Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँ वर्ष मनाउन अन्तुमा पुग्दै २७ देशका राजदूत

नयाँ वर्ष मनाउन अन्तुमा पुग्दै २७ देशका राजदूत

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०८१


नयाँ वर्ष मनाउन अन्तुमा पुग्दै २७ देशका राजदूत

फिक्कल । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालमा कार्यरत विभिन्न २७ देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत यही चैत्र ३१ वैशाख १ र २ गते २७ भन्दा बढी देशका राजदूत अन्तु आउने कार्यक्रम तय भएको हो ।

मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनुभएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा, मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ ।

कार्यक्रम अनुसार चैत ३१ गते उक्त टोली कन्याम आइपुग्ने छ । कन्याममा नगरले स्वागत गरी चिया टेस्टिङ सेन्टरमा विभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ । सो अवसरमा दुधको परिकार चिजको समेत स्वाद चखाइने छ । नगरप्रमुख राईका अनुसार कन्याममा सबै देशका राजदूतसहितको टोलीलाई विभिन्न जातजातिको पोसाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम रहेको छ।

३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्योदयको दृश्यावलोकन गराइने नगरप्रमुख राईले जानकारी दिए । उनले भने, “यति धेरै देशका राजदूत हाम्रो पालिकामा आउँदै गर्दा यो पालिकालाई आगामी दिनमा विश्वले चिन्ने अपेक्षासहित कार्यक्रमको तयारी भइरहेको छ। चिया बगान घुम्ने, अन्तु पोखरीमा डुङ्गा सयर आदि कार्यक्रम गर्ने तयारी नगरले गरेको छ।

नगरले राजदूतसहितको टोली आउने भएपछि अहिले नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न उपसमिति बनाएर स्वागत सत्कारका तयारी थालेको छ। नगरले विभिन्न जातजातिको झाँकीसहित पाहुनालाई स्वागत गर्ने, स्थानीय खानाका परिकारको व्यवस्था गर्ने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने र स्थानीय पर्यटकीय क्षेत्रको सरसफाइ गर्ने काम गरिरहेको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले मन्त्रालयले बर्सेनि गर्ने कार्यक्रम भएकाले अन्तुमा पनि अनौपचारिक कार्यक्रम मात्र हुने जानकारी दिए । उनका अनुसार हालसम्म २७ देशका राजदूत अन्तु आउने निश्चित भइसकेको छ । उक्त टोली वैशाख १ गते अन्तुमै बसेर २ गते फर्कने कार्यक्रम रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचार हुने नगर उपप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार