Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मुखियालाई वासु शशी साहित्य सम्मान तथा वैद्य र पहाडीलाई पुरस्कार

मुखियालाई वासु शशी साहित्य सम्मान तथा वैद्य र पहाडीलाई पुरस्कार

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १३ २०८१


मुखियालाई वासु शशी साहित्य सम्मान तथा वैद्य र पहाडीलाई पुरस्कार

इलाम । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई ’वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गरेको छ । यसैगरी साहित्यकारहरू विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गरेको छ ।

वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८९औं जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा पुरस्कार समारोहविच सम्मान र पुरस्कार प्रदान गरिएको हो । समारोह प्रतिष्ठानकी उपाध्यक्ष हिरण्य कुमारी पाठकको अध्यक्षता र बरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पुरस्कारको राशि पच्चीस हजार रूपैयाँ रहेको छ। परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गत फागुनमा पुरस्कार र सम्मानको निर्णय गरेको थियो । ६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । मुखियाका नाटकहरू अनि देउराली रुन्छ र क्रसमा टाँगिएको जिन्दगी तथा एकांकीहरू अँध्यारोमा बाँच्नेहरू र फेरि इतिहास दोहोरिन्छ कृतिहरू प्रकाशित छन्।

यसैगरी चार दशकदेखि सक्रिय वैद्यका चार कवितासंग्रह प्रकाशित छन्। वैद्यका आकाश छुन खोज्ने मनहरू, समय र सपनाहरू, अक्षर सिम्फोनी र युगको तटमा उभिएर कृति प्रकाशित छन्। यसैगरी तीन दशकदेखि नेपाली भाषा साहित्यमा क्रियाशील पहाडीका कविता र सम्पादनका कृतिहरू प्रकाशित छन्।

पहाडीका मृगतृष्णा र अन्य कविता, घामका अक्षर र विश्व नारी नेपाली कविता (सहलेखन) प्रकाशित छन्। वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसकेका छन्।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरू तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार