फिक्कल । इलामको फाकफोकथुममा २ दिवसीय निःशुल्क स्वास्थ्य शिविर को तयारी तिव्र पारिएको छ । । असहाय तथा आर्थिक अभावका कारण स्वास्थ्य चेक जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो । स्थानीय सरोकारवाला राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरुसंग परामर्श गरि तयारी तिव्र बनाइएको हो ।
चैत्र १ र २ गते गाउँपालिकाको केन्द्र आमचोकको सिहँ देवी माध्यमिक विद्यालयमा सञ्चालन हुँदैछ । उक्त शिविरमा कार्डियोथेरासिक डा भगवान् कोइराला आउने आयोजकले जनाएको छ । मुटु रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, गाईनोलोजिस्ट नाक कान घाँटी रोग विशेषज्ञ लगायत २६ जना विशेषज्ञ डाक्टर सहित ४२ जना आउनेछन् ।
नसर्ने रोगको अवस्था फाकफोथुममा जटिल रहेको कारण शिविर राखिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । शिविरमा पालिका भित्रका मात्रै नभई छिमेकी पालिका देउमाई नगर पालिका, माङ्सेबुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाबाट पनि सेवाग्राहीले लाभ लिनेछन् ।
सुविधा सम्पन्न अस्पताल गाउँमै नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रूपमा प्राप्त गर्नेछन् । गाउँपालिकाको आयोजनामा सञ्चालन हुने उक्त शिविरमा विपन्नका लागि स्वास्थ्य नेपालको सहकार्य र मनमोहन कार्डियोथोराशिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोग र दमक बाल अस्पतालको सहयोगमा संचालन हुने भएको हो ।