सुर्योदय (फिक्कल) । पर्यटकीय नगरी सुर्योदय नगरपालिका १० मा रहेका पर्यटकीय गन्तव्यको उजागर गर्ने र पर्यटन व्यवसाय प्रवद्र्धनका लागि होमस्टे संचालनको पूर्वतयारी कक्षा सम्पन्न भएको छ । लेप्चा जातिको इतिहास रहेको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै पर्यटन व्यवसायको बिकास गर्न पूर्व तयारी कक्षा संचालन गरिएको हो ।
नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम आयोजना गरिएको पर्यटन कार्यालय झापा काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले बताए । कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा काँकरभिट्टा र सूर्योदय नगरपालिका १० वडा कार्यालयको सहकार्यमा दुई दिने होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रम आयोजना भएको हो । पूर्व तयारी कक्षामा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, प्राध्यापक सागर सिवाकोटी, पर्यटक प्रहरीका प्रमुख अमृत कुमार बस्नेत, केचना कंचनजंघा पर्यटन विकास समितिका निवर्तमान बोर्ड सदस्य सुजन तिमसिनाले प्रशिक्षण दिएका थिए ।
पर्यटन कर्यालय झापा काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षता र सूर्योदयन गरपालिका १० का वडाअध्यक्ष पेमाउगेन लामाको प्रमुख आथित्यतामा पूर्व तयारी शिक्षा कार्यक्रमको समापन भएको थियो । होमस्टे संचालनका लागि समुदायमा आधारित पूर्व तयारी शिक्षा कार्यक्रमको समापनमा मन्तव्य राख्दै सूर्योदय नगरपालिका १० अध्यक्ष पेमाउगेन लामाले तालिम लिएर त्यसै घरमा नबस्न सहभागिलाई आग्रह गरे । होमस्टे संचालनका लागि अहिले घरमा भएका पूर्वाधारमा थोरै कुराहरु थप भएमा होमस्टे संचालन गर्न सकिने र त्यसले ग्रामीण क्षेत्रको अर्थतन्त्र विकासमा ठुलो टेवा पुग्ने बताए ।
सूर्योदय नगरपालिका १० मा लेप्चा जातिको इतिहासको अध्ययनसँगै स्वामी पार्म, सिमपानी, फेङ्सुङ्ग गुम्बा लगायतका पर्यटकीय गन्तव्य भएकाले तीन गन्तव्यको प्रचारमा आधारित होमस्टे व्यवसाय संचालन गर्न सकिने वडाअध्यक्ष लामाले बताए । उनले भने– होमस्टे ग्रामीण क्षेत्रको अर्थतन्त्र विकास गर्ने भएकाले महिलाहरुनै अघि बढ्नुपर्नेमा जोड दिए । होमस्टे संचालनका लागि धेरै लगानी पनि गर्नु नपर्ने र छुट्टै संरचना नचाहिने भएकाले पुर्व तयारी कक्षामा सहभागि इच्छुकले होमस्टे दर्ता गरेमा सहयोग गर्ने पर्यटक कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए । उनले भने– हामीले सहज रुपमा होमस्टे संचालन गर्न चाहने व्यक्ति वा समूहलाई दर्ता गर्न र संचालनका लागि सहजिकरण गर्नेछौ । होमस्टे संचालनले ग्रामीण क्षेत्रका पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा ठुलो योगदान गर्ने प्रमुख खतिवडाले बताए । समापन सत्रमा बोल्दै होमस्टे महासंघ कोशी प्रदेश समितिका सचिव मञ्जिल देवानले ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा होमस्टेको योगदान रहेकाले संचालन गर्न चाहनेलाई सहजिकरण गर्ने बताए ।
समापन कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिका सदस्य प्रविन तिमसिनाले पर्यटकहरुको रोजाईमा ग्रामीण क्षेत्रको परिवेश पर्दै गएकाले होमस्टे संचालनका फिक्कलमा राम्रो संभावना रहेको बताए । समापन सत्रमा बोल्दै सूर्योदय नगरपालिका १० समावेशी टोलका अध्यक्ष फुर्बा लाप्चाले लेप्चा जातिको इतिहास बोकेको फिक्कल क्षेत्रमा समुदायस्तरमा होमस्टे संचालनका लागि अग्रसर लिने प्रतिवद्धता व्यक्त गरे ।
होमस्टे संचालनका लागि पूर्व तयारी कक्षामा सहभागिका तर्फबाट देवराज तामाङ्ग र प्रेरणा लाप्चाले आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले होमस्टे संचालनका लागि ठुलो लगानी नचाहिने बुझेकाले तालिमको सिप प्रयोगमा ल्याउन प्रयास गर्ने बताए । होमस्टे संचालनका लागि पूर्व तयारी कक्षामा सुर्योदय नगरपालिका १० र ११ नम्बर वडाका ४० जनाको सहभागिता रहेको थियो । पूर्वतयारी कक्षामा पर्यटन कार्यालय झापा काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टे प्रवद्र्धन र पर्यटन विकास अवस्था, सागर सिवाकोटीको होमस्टे र ग्रामीण पर्यटन, होमस्टे महासंघ कोशी प्रदेश समितिका सचिव मञ्जिल देवानले होमस्टेमा कृषि पर्यटन र केचना कंचनजंघा पर्यटन विकास समितिका निवर्तमान बोर्ड सदस्य सुजन तिमसिनाले पर्यटनमा प्रवद्र्धनमा आमसंचार र समाजिक संजालको प्रयोग बिषयमा प्रशिक्षण दिएका थिए ।