Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

व्यवसायीक फुटबल खेल्न फर्किए अञ्जिला, साम्बा र रेखा

व्यवसायीक फुटबल खेल्न फर्किए अञ्जिला, साम्बा र रेखा

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १५ २०८१


व्यवसायीक फुटबल खेल्न फर्किए अञ्जिला, साम्बा र रेखा

काठमाडौं। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बासहित तीन खेलाडी व्यवसायीक फुटबल खेल्न फर्किएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार गोलकिपर अञ्जिला तथा फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल बिहीबार कर्मथलो फर्किएका हुन्। उनीहरू घरेलु मैदानमा भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा म्यानमारसँग नेपाल २–० ले पराजित भएसँगै उनीहरू आ आफ्नो क्लब सम्हाल्न फर्किएका हुन्। अञ्जिलाले किर्गिस्तान र लेबनानविरुद्ध १–० को जित निकाल्दा पोस्ट सम्हालेकी थिइन्। तर, म्यानमारविरुद्धको लिग खेलमा भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो रोजाइकी गोलकिपर अञ्जना रानामगरलाई गोल पोस्टको जिम्मेवारी दिएका थिए।

उक्त खेलमा नेपालले कठिन पुनरागमन गर्दै २–२ को बराबरी खेलेको थियो। फाइनलमा भने कप्तान अञ्जिला सुरुआती ११ मै फर्किएकी थिइन्। तर, उनले टोलीलाई उपाधि दिलाउन सकिनन्। उनले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन्। अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन्। साम्बाले भने फ्रान्सको अभान्ट ग्वेन्ग्याम्पबाट शीर्ष श्रेणीको लिगमा खेल्दै आएकी छन्।

उनको टोली रेलिगेसन जोनमा छ। उनले १५ मध्ये सात खेलमा सुरुआती ११ मा स्थान बनाएकी छन्। बाँकीमा भने उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै आएकी छन्। उनले क्लबबाट एक गोल मात्रै गरेकी छन्। इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा उनले दुई गोल गरेकी थिइन्। योसँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या ५८ पुगेको छ।

यस्तै, रेखा आवुधावी काउन्ट्री खेलिरहेकी छन्। उनले क्लबका लागि तीन गोल गरेकी छन्। तर, गत कात्तिकमा घरेलु मैदानमा सम्पन्न साफ च्याम्पियनसिपमा सात गोल गरेकी उनी यसपल्ट भने चल्न सकिनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार