इलाम । इलामको उत्तरी क्षेत्र जौबारीमा रहेको सरकारी जग्गामा लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको जैविक मार्ग निर्माण बारे अध्ययन हुने भएको छ । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको बासस्थान क्षेत्रका रुपमा रहेको सन्दकपुर गाउँपालिका ५ र माईजोगमाई गाउँपालिका २ मा अवस्थित जग्गामा वृक्षारोपण गरि जैवीक मार्ग बनाउने बारे वन तथा भु–सरक्षण विभागको नेतृत्वमा अध्ययन हुने भएको हो ।
विभागको नेतृत्वमा गठन भएको प्राविधिक अध्ययन टोली बिहिबार इलाम आइपुग्ने र स्थलगत अध्ययनमा जौबारी जाने भएको छ । नेपाल सरकारको कृषि विकास मन्त्रालय मातहत रहेको जग्गामा भारतको सिंहलिला राष्ट्रिय निकुञ्जसँगको जैविक मार्गको रुपमा विकास गरि व्यवस्थापन गर्ने बिषयमा स्थलगत अध्ययन हुने भएको हो । वन तथा भु–सरक्षण विभाग र रेडपाण्डा नेटवर्कको समन्वयमा अध्ययनको काम हुनेछ । रेडपाण्डाको बासस्थान व्यवस्थापन र जैवीक मार्ग निर्माणका लागि संभाव्यताको प्राविधिक अध्ययनका लागि वन तथा वातावरण मन्त्रालयबाट २०८१ मंसिर १३ गते सचिवस्तरको निर्णय भएको थियो । सोहि निर्णय अनुसार माघ २३ गतेबाट अध्ययन गर्ने भनिएपनि रोकिएकोमा फागुन ८ गतेबाट पुनः अध्ययन गर्ने काम शुरु भएको हो ।
प्राविधिक अध्ययन टोलीमा वन तथा भु–सुरक्षण विभागका वन तथा वन्यजन्तु संरक्षण माहाशाखा प्रमुखको संयोजकत्वमा अध्ययन टोली गठन भएको हो । जसको सदस्यमा कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–सचिव, डिभिजन वन कार्यालय इलामका प्रमुख, वन तथा वातावरण मन्त्रालय जैविक विविधता माहाशाखाका अधिकृत, कृषि ज्ञान केन्द्र इलामका प्रमुख र रेडपाण्डा नेटवर्कबाट दुई जना प्रतिनिधि रहेका छन् । अध्ययन टोलीको सदस्य सचिवमा वन तथा भु–संरक्षण विभाग वन्यजन्तु संरक्षण शाखा प्रुमख रहेका छन् ।
सचिवस्तरको निर्णयबाट संभाव्यता अध्ययनका लागि ६ वटा कार्यसुची तोकिएको छ । फागुग ८ बाट २७ गतेसम्मको समयसिमा तोकिएको अध्ययन टोलीले स्थलगत अध्ययन तथा निरिक्षण, स्थानीय समुदाय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयसँग छलफल गरि गर्नुपर्नेछ । त्यसैगरी कृषि तथा पशुपक्षि विकास मन्त्रालय सिंहदरबार र उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशसँग सहकार्य तथा परामर्श गरि प्राविधिक प्रतिवेदन तयार गर्नुपर्नेछ । उक्त क्षेत्रको स्वामित्व कुन कुन निकायको छ यकिन गर्न पनि टोलीलाई जिम्मा दिएको छ ।
त्यसैगरि उक्त जग्गाको चारकिल्ला यकिन गरि नक्साङंकन गर्ने, नापि कार्यालय इलामबाट फिल्डबुक माग गर्नुपर्नेछ । भारतको सिङ्गलिला राष्ट्रिय निकुञ्ज, म्ँइ म्बचवभभष्लिन र एबमmबवब ल्बष्मग ज्ष्mबबिथबल श्यययिनष्अब िएबचप, म्बचवभभष्लिन सँग पनि आवश्यक परामर्श गर्नुपर्नेछ । त्यसैगरी कार्यदलले आवश्यकता अनुसार कुनै स्थलगत भ्रमण निरिक्षण गर्न सरोकारवालाहरुसँग परामर्श गर्न र विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्ने सचिवस्तरको निर्णयमा उल्लेख छ ।
जौबारीमा अहिले आलुको बिऊ उत्पादन
सो जग्गामा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानको काम गर्दै आएको छ । नार्कले आलुको बिऊ उत्पादन गरि किसानलाई हस्तान्तरण गर्दै आएको छ ।
इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौबारीमा सरकारले डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला अलपत्र जग्गा व्यवस्थापनका लागि अध्ययन गरि नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना गरेको थियो । नार्कले किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ बिक्रि गर्दै आएको छ । त्यसैगरी कृषि ज्ञान केन्द्र अन्तरगत पनि आलुको बिऊ उत्पादनको काम हुँदै आएको हो ।
वि.सं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म जम्मा १४ वर्ष सो केन्द्र सञ्चालनमा आएको थियो । सो केन्द्र बन्द भएको ३६ वर्षपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गरेको कृषि नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जी र बङ्गुरपालनसम्बन्धी अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थाको ८ हजार ८ सय २५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्क स्थापनापछि आलुको बीउ उत्पादन गरी सरल मूल्यमा बिक्री गर्ने काम हुँदै आएको हो ।
२ हजार ८ सय ३५ मिटर उचाइमा अनुसन्धान केन्द्र स्थापनापछि इलाम, पाँचथर र ताप्लेजुङका किसानले सहज रूपमा गुणस्तरीय आलुको बीउ पाएका छन् । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरी आलुको परीक्षण र बीउ उत्पादन मात्रै भएको थियो ।
केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीको अनुसन्धान तथा प्रमाणीकरण गरिरहेको छ । राम्रो देखिएका आलुका जात, कृषि उपज जाँच गरिँदा किसानलाई सहयोग पुगेको हो ।
जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योति, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीउ उत्पादन हुने केन्द्रमा अत्यधिक माग भएपछि किसानलाई भनेअनुसारको आपूर्ति गर्न सहज भएको छ । भारत र भुटानबाट आलुको बीउ आयात हुने गरेको भए पनि केन्द्र स्थापना भएपछि किसानले बाह्य आलुको बीउको प्रयोग गर्न छाडेका छन् । केन्द्रमा उत्पादन भएको बीउ मध्य पहाडी क्षेत्रको समुद्री सतहको एक हजार २ सय मिटरदेखि ४ हजार मिटरसम्मको उचाइमा खेती हुने गरेको छ । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रूपमा विकास गर्न, पशुपालनको अध्ययन केन्द्र बनाउन र जडिबुटीको अध्ययन क्षेत्र बनाउन नार्कको केन्द्रीय कार्यालयमा प्रस्ताव समेत गरिएको छ ।