इलाम । सुनसरीको धरानमा जारी कोशी प्रदेश लिगमा इलाम लिग च्याम्पियन रेडहर्स फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा जारी प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा झापा लिग च्याम्पियन धाइजन चारालीसंग २–२ गोलको बराबरी खेलेपनि सुपर फोरमा प्रवेश गर्न असफल रहयो । पहिलो हाफमा २–० ले पछि परेको रेडहर्सले दोश्रो हाफमा कमब्याक गर्दै खेल बराबरी गरेको हो ।
खेलको २७ औ मिनेटमा सागर रसाइलीले झापालाई अग्रता दिलाए । ३ मिनेट लगतै पुजन थापाले अग्रता दोब्बर बनाए । २–० ले परेको अवस्था इलामले दोश्रो हाफमा उल्ट्याउन सफल रहयो । ४८ औ मिनेटमा साङ्गे शेर्पाले गोल गर्दै अन्तर २–१ बनाए । ५९ औ मिनेटमा बिनोद धमलाले बराबरी गोल गरेसंगै रेडहर्सले १ अंक बटुल्दै समुहको अन्तिम स्थानमा रहयो । खेलको म्यान अफ दि म्याच इलामका बिनोद धमला घोषित हुँदै ५ हजार प्राप्त गरे ।
प्रोटेस्टका कारण झापा बाहिरियो
बराबरी नतिजाले झापा समेत अन्तिम चारमा प्रवेश गर्न सकेन् । पाँचथर जिल्ला लिग खेलेको खेलाडी खेलाएका कारण प्रोटेस्ट परेपछि झापाले सुपर फोरमा प्रवेश गर्न सकेन् । झापाले देउराली युवा क्लब विरुद्ध निकालेको ३–० को जित उल्टिएको छ । देउरालीले २ खेलबाट ६ अंक बटुलेको छ । प्रोटेस्टपछि झापाले २ खेलबाट १ अंक बटुलेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा इलाम अन्तिम स्थानमा रहेको हो ।
लिग चरणको खेलपछि सुपर फोरमा समुह ए बाट पाँचथर युनाइटेड, समुह बी बाट गाइघाट फुटबल क्लब उदयपुर, समुह सी बाट देउराली युवा क्लब धनकुटा र समुह डी बाट बुइपा एघार फुटबल क्ल्ब खोटाङ प्रवेश गरेका छन् । फागुन ४ गतेबाट सुपर फोरको खेल सुरु हुनेछ ।