Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा गोल्डकप : दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश

पवित्रहाङमा गोल्डकप : दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २६ २०८१


पवित्रहाङमा गोल्डकप : दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश

इलाम । दिपेन्द्र शिखर फुटबल क्लब इलाम धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १५ औ ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शनिबार) भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर इलाम सेमिफाइनलमा प्रवेश गरेको हो ।

इलामको जितमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गरिन् । खेलको पहिलो हाफको १९ औं मिनेटमा सजिनाले गोल गर्दै सुरुवाती अग्रता दिलाइन । उनले मैदानको मध्यभागको नजिकैबाट प्रहार गरेको बलले मिक्लजुङका गोल रक्षक उषा थापालाई बिट गर्दै सिधै जाली चुमेको थियो ।

यसैगरी खेलको दोस्रो हाफको नवौं मिनेटमा स्वस्तिकाले गोल गर्दै २–० को सहज जित दिलाइन । खेलको प्लेयर अफ द म्याच दिपेन्द्र शिखर इलामकी स्वस्तिका विक घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् । मिक्लाजुङले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका मन्जली योन्जन, कुसुम खतिवडा, एपिएफ क्ल्बकी रविना गोले, यु–१८ राष्ट्रिय टिमकी गोलरक्षक उषा थापा सहित मैदान उत्रिएको थियो ।

किरात धर्मगुरु आमा पवित्रहाङमा साँवाको ६९ औ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आइतबार पथरी शनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई नगद पुरस्कारबाट सम्मान गरिने छ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार