इलाम : पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचपीभी’ खोप इलाममा नौ हजार आठ सय २८ जना किशोरीलाई लगाइने भएको छ। माघ २७ देखि फागुन २ गतेसम्म जिल्ला स्वास्थ्य कार्यालय इलामले अभियान सञ्चालन गरेर खोप लगाउने भएको हो। स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका कक्षा ६ देखि १० मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका छात्रालाई यो खोप लगाइने जानकारी दिए।
कोशी प्रदेशमा दुई लाख चार हजार नौ सय ७४ जनालाई यो खोप लगाइने बताइएको छ। भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै पालिकाबाट तथ्याङक सङ्कलन गरिएको छ। खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकाले सबै बालिकाहरूलाई लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पण्डितले बताए।
इलामका १० वटै पालिकामा एकैपटक यो अभियान सञ्चालन हुने छ। नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरेको हो।
पहिलो चरणमा चितवन र कास्कीमा २०७२ र ०७३ मा यो अभियान सफलतापूर्वक सम्पन्न भएको थियो। यसबाट हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाहरूको मृत्यु हुने गरेको बताइएको छ।