इलाम । पर्यटन प्रवर्द्धन र युवालाई दीगो रोजगारीको अवसर प्रदान गर्न होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरिँदै छ । स्विस सरकार मार्फत होटल एशोसिएसन नेपाल कोसी प्रदेशको सहयोगमा होटल ब्यबसायी संघ इलामले दक्ष जनशक्ति उत्पादनमा जोड दिदै १० दिने कुक तालिम मंगलबारबाट इलाम सदरमुकाममा सुरु गरेको हो ।
बेरोजगार युवालाई लक्षित गरी होटलमा काम गर्ने २० जनालाई पहिलो चरणमा तालिम दिन थालेको छ । उत्पादित कामदारहरु अझ दक्ष बन्ने तथा केही नयाँले तालिम लिएपछि स्वदेशमै स्वरोजगार हुनुका साथै रोजगारी पाउन सक्ने संघका महासचिब प्रकाश चापागाईले बताए
तालिमपछि कन्टिनेन्टल कुकमा दक्ष बन्ने बिश्वास गरिएको छ । एशोसिएसनका कोसी प्रदेश अध्यक्ष राजन श्रेष्ठले होटलमा दक्ष जनशक्ति उत्पादन गर्दा पर्यटन प्रवर्द्धन सहयोग पुग्ने बताउनुभयो । दक्ष जनशक्ति उत्पादनले युवालाई रोजगारी मिल्ने तथा होटलमा दक्ष जनशक्ति हुँदा पर्यटन व्यवसाय प्रवर्द्धन समेत सघाउ पुग्ने श्रेष्ठको भनाई छ ।
जिल्लामा ६० भन्दा बढी ठूला होटल छन् । तिनमा २ हजार ३ सय कामदार रहेपनि दक्ष कामदारको संख्या सय भन्दा तल रहेको छ । होटलका कामदारलाई पर्याप्त तालिम छैन, जसोतसो चलाउनु परेको छ । दक्ष जनशक्ति भए होटल ब्यबसाय मात्र नभएर इलामको पर्यटन क्षेत्रमा महत्वपिूर्ण सघाउ पुगोस् भन्ने हिसाबले दक्ष जनशक्ति उत्पादनका लागि यो तालिमको आयोजना गरेको संघका जिल्ला अध्यक्ष देवी पौडेलको भनाई छ ।
तालिम पाएका युवा रोजगारीका लागि जिल्ला बाहिर जानु नपर्ने तथा आफै ब्यबसाय गर्न चाहेमा इलाम नगरपालिकाले पनि आवश्यक सहयोग गरिदिने इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ र ९ का वडाध्यक्ष गोपाल चौहानले बताए ।
केचना कञ्चनजंघा पर्यटन समितिका कार्यकारी निर्देशक केशब द्यौरालीले रोजगारीका अवसर सिर्जना गर्नेमात्र नभई इलाम आउने पर्यटकको आतिथ्य सत्कारमा पनि यस्ता किसिमका तालिमले सघाउ पुग्ने बताए । व्यक्ति दक्ष भएपछि रोजगारी पाउँछ र आम्दानी पनि राम्रो गर्न सकिने अवस्था रहने इलाम नगरपालिका पर्यटन समितिका अध्यक्ष सुशिला सापकोटाको भनाई छ ।
कोराना महामारीमा थलिएको इलामको होटल ब्यबसाय अहिले ब्यूतिने क्रममा छ । अहिले होटलमा दक्ष कामदारको अभाव भइरहेको अवस्थामा यो कामदारका लागि भएको दक्षता तालिमले होटल व्यवसाय सहित पर्यटन क्षेत्रमा सघाउ पुग्नेछ । तालिममा २० जनाको सहभागिता रहेको छ भने तालिमलाई निर्मला लेप्चा चौहानले सहजीकरण गरिरहेकी छन् ।