काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत १२ माघमा हुन लागेको निर्वाचनको मनोनयन दर्ता सरेको छ । माघ ५ गते अर्थात् शनिबार मनोनयन दर्ता हुने भनिएकामा प्राविधिक कारण देखाउँदै माघ ८ गतेलाई सारिएको निर्वाचन समितिले जनाएको छ । समितिले शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै निर्वाचन तालिका हेरफेर गएिकोबारे जानकारी दिएको हो ।
नयाँ तालिका अनुसार माघ ८ गते मंगलबार विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उम्मेदवारी अर्थात् मनोनयन दर्ता गर्नु पर्नेछ । उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने भनिएको छ । ८ गते मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुने बताइएको छ ।
९ गते जिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीमाथि दावी विरोधको समय तोकिएको छ भने सोही दिन ११ बजेपछि दावी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ । १० गते विहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ
माघ १२ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । प्रत्येक प्रदेशमा मतदान केन्द्र तोकिएका छन् । अखिल क्रान्तिकारीले उमेरहदलाई भने कडाईका साथ लागू गरेको छ । ३२ वर्ष उमेर हदका लागि २०४९ माघ ७ गतेपछि जन्ममिति भएका प्र्रतिनिधिहरुले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।
