इलाम । इलाममा आगामी फागुन १७ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप हुने भएको छ । आगामी माघ ५ गतेबाट गर्ने भनिएपनि महिला लिग र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका कारण प्रतियोगिताको मिति सरेको हो । आयोजकले माघ ५ गतेबाट १२ गतेसम्म यसअघि मिति तय गरेको थियो । तर महिला लिग र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका कारण महिला खेलाडीहरु उपलब्ध नहुने भएपछि प्रतियोगिताको नयाँ मिति फागुन १७ देखि २४ तय गरिएको आयोजक क्लब ओएसिसले जनाएको छ ।
यस अघि पूर्व निर्धारित समयमा महिला लिगको फाइनल चरणः पुष १८ देखि माघ १६ गतेसम्म संचालन हुँदैछ । महिला लिगको दोश्रो चरणमा सहभागी त्रिभुवन आर्र्मी, एपिएफ, नेपाल पुलिस र बागमती क्लबले इलामको प्रतियोगितामा सहभागीता जनाउने तय भएको छ । त्यसैगरी महिला अन्डर–२० साफ च्याम्पियनसिप २०८१ माघ २९ देखि फागुन ७ गतेसम्म बंगलादेशमा आयोजना हुुँदैछ ।
फोर नेसन महिला च्याम्पियनसिप २०८१ फागुन ५ देखि १४ गतेसम्म काठमाडौंमा संचालन हुने भएकाले क्ल्ब, उमेर समुह र राष्ट्रिय टोलीका सिनियर खेलाडीहरु इलामको प्रतियोगिता सहभागी हुन नपाउने भएका थिए । इलामको ठुलो टुडिखेलमा संचालन हुने प्रतियोगितामा ३ विभागीय टोलीका अतिरिक्त आयोजक क्लब ओएसीस, पदमा स्पोर्टस क्लब ओखलढुङ्गा, बागमती फुटबल क्लब सर्लाही, भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र सी एफसी सहभागी हुनेछन् ।
विजेताले ४ लाख र उपविजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ । यसअघि गत संस्करणमा दीपेन्द्र शिखर फुटबल क्लबलाई हराउँदै मानेभञ्ज्याङ एफसी दार्जिलिङले उपाधि जितेको थियो । इलाममा ११ वर्षपछि विभागीय टिम सहितको महिला फुटबल हुन लागेको हो । यसअघि २०७० पुस २८ बाट माघ ७ गतेसम्म प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल लीग भएको थियो ।