इलाम : टिनभन्दा बलियो र सहज रुपमा कच्चा पदार्थ पाइने भएकाले लेकाली बस्ती चित्राले सजिएका भेटिन्छ। जंगलमा सहज रुपमा मालिङ्गो र निगालो पाइने भएकाले लेकाली बस्तीका घर र गोठहरु चित्राले सजिएका हुन्। घरको बेरादेखि सिलिङसँगै घामपानी छेक्न छानोमा पनि प्रयोग गरिन्छ।
स्थानीय कालिगढले बनाएको चित्रा हिउँ, हुस्से, असिना र तुसारो बाक्लो पर्ने लेकमा तातोका लागि उपयुक्त देखिन्छ। दिनभर आगो बाल्दा टिनमा खिना लाग्छ भने चित्रा झनै बलियो हुने गरेको छ। इलाम र पाँचथरको लेकाली क्षेत्रका घर र गोठहरु आजकाल चित्राले बारिएको भेटिन्छ।
चित्रा बनाउन हातमा सिप भए पुग्छ। गाउँमै पाइने मालिङ्गो, निगालोमध्ये एकलाई काटेर मुग्राले कुटेर चिम बनाएर चित्रा बुन्ने चलन छ। बुनिएको एक चित्रा बिच्छ्याएर प्लाष्टिक ओच्छ्याइ अर्को खप्ट्याएर प्रयोग गरिन्छ। बिचमा राम्रो खालको प्लाष्टिक लगाएपछि पानी चुहिँदैन कुहिरो, असीना, हिउँ पर्दा पनि मक्किएर जाँदैन।
टिनलाई असिना र हिउँले असर गर्छ भने हिमाली क्षेत्रमा हावा प्राय चल्ने र काठमा टिन अड्याउन ठोकेको काँटी बाटै पानी चुहने समस्याले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा स्थानीय चित्राकै प्रयोग हुँदै आएको सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष सनम राई बताउँछन्।
छानोमा लगाएका चित्रा ७ वर्षदेखि २० वर्षसम्म खप्छ भने बेरा र सिलिङ्गको ५० वर्षसम्म खप्छ। आगो बालेको धुवाँको रापले टिनलाई खिया लाग्न सघाउ पुग्ने गरेपनि चित्रा झनै बलियो हुन्छ। टिन लगाउन खर्च बढी हुने र कम खप्ने भएकाले लेकाली बस्ती चित्राले सजिने गरेका हुन्।
हिमाली क्षेत्रमा घर तातो बनाउन २४ सै घण्टा आगो बालिने भएकाले त्यसको असरले टिन खिया लाग्ने समस्या पर्ने गरेको छ। सुमुन्द्र सतहदेखि २ हजार मिटरदेखि माथिका बस्ति चित्राले सजिने गरेका छन्। चित्रा बनाउन प्रयोग गरिने कच्चापदार्थ भने पछिल्लो समय मासिँदै गएको स्थानीय बताउँछन्।
मालिङ्गो र निगालोको पात गाईवस्तुको आहाराका लागि पनि प्रयोग हुनाले मासिँदै गएकाले संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ। लेकाली क्षेत्रमा बढी पशुपालन गरिँदै आएकाले गाईवस्तुको गोठदेखि घरसम्म चित्राकै प्रयोग गरिँदै आएको छ।
चित्रा बनाउने मालिङ्गो र निगालो लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको आहारसमेत हो।