कन्याम ।सूर्योदय नगरपालिका वडा नम्बर ६ कन्याममा अवस्थित श्री हुरहुरे चिया उत्पादक सहकारी संस्था लिमिटेडको ११औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले विभिन्न विधाका उत्कृष्ट किसान एवम कर्मचारीहरुलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष वेदप्रसाद घिमिरेको अध्यक्षतामा भएको एवम वडा नम्बर ६ का वडा सदस्य बिशाल तामाङ जगतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
साधारणसभामा १ करोड १३लाख २२हजार बराबरको आय रकम प्रस्तुत तथा पारित गरिएको छ । १३५ शेयर सदस्य रहेको यस हुरहुरे चिया उत्पादक चिया सहकारीले विगत वर्षहरूमा झै शेयर लाभांश वितरण गर्नुका साथै विभिन्न विधामा पुरस्कार समेत वितरण गरेको छ। पुरस्कृत हुनेहरुमा चिया व्यापार तर्फ मनकुमार तामाङ ,फुर्वा तामाङ ,तेजबहादुर पाख्रिन, जीवन तामाङ , कर्मचारी डिल्ली दर्जी ,चिया कृषक रोमनाथ आचार्य , गोपाल तामाङ ,सुवास तामाङ , उत्कृष्ट बचतकर्ता अन्तर्गत माधव आचार्य रहेका छन् ।
त्यस्तै लक्की नम्बर अन्तर्गत ५ जना भाग्यशाली विजेताहरुलाई समेत पुरस्कृत गरिएकोछ । भाग्यशाली विजेताहरुमा फूलमाया तामाङ ,तेजराज आचार्य , त्रिसना तामाङ ,गोपाल गिरी, तथा खेम आचार्य रहेका छन् । कार्यक्रममा द्वारिकाप्रसाद पोख्रेल ,चन्द्र बहादुर मोक्तान ,तथा अग्रज व्याक्तित्व गोविन्दप्रसाद आचार्यको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले संस्थाले छोटो समयमा नै गरेको प्रगतिमा खुसी प्रकट गर्दै थप सफलताको निम्ति शुभेच्छा प्रकट गरेका थिए ।कार्यक्रममा बोल्दै स्थानीय अगुवा गोविन्द प्रसाद आचार्यले आफूहरु लाई बाटोको असुविधाले सधैं गिजोलिरहने बताउँदै जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए। स्वागत मन्तव्य लेखा संयोजक गोपाल घिमिरेको रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रेमराज आचार्यले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमकै वीच नगर आईडल विजेता निर्जला भट्टराईले मीठो सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेकी थिईन् । कार्यक्रम संचालन तेजराज आचार्यको रहेको थियोे संस्थाको शुद्ध नाफा रकम ४ लाख ७१ हजार ७९२ देखिएको छ । २०७० सालमा थोरै चिया कृषकहरु मिलेर गठन भएको चिया सहकारी प्रति पछिल्ला दिनमा स्थानीय चिया कृषकहरुको आकर्षण बढेर गएको छ।