Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

समयमा जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई पाँच/पाँच हजार दिदैँ माङसेबुङ गाउँपालिका

समयमा जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई पाँच/पाँच हजार दिदैँ माङसेबुङ गाउँपालिका

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १२ २०८१


समयमा जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई पाँच/पाँच हजार दिदैँ माङसेबुङ गाउँपालिका

इलाम : ‘जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३’ मा कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईसराई भएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निस्शुल्क घटना दर्ता गर्न सकिने व्यवस्था छ । तर, सबैजसो व्यक्तिले समयमै घटना दर्ता गर्दैनन् । कतिपय स्थानीय तहले समयमै घटना दर्ता गराउन विभिन्न अभियान सञ्चालन गर्ने गरेका छन् ।

यसै अभियान अन्तर्गत जिल्लाको माङसेबुङ गाउँपालिकाले समयमै घटना दर्ता गराउन प्रोत्साहन गर्ने उदेश्यले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले समयमै जन्मदर्ता र मृत्युदर्ता गराएमा पाँच/पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउन लागेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । त्यसका लागि कार्यालयको तर्फबाट आवेदन आह्वान गरिएको उनले जानकारी दिए ।

माङसेबुङ गाउँपालिकाले ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत गाउँपालिकाभित्र स्थायी बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने तयारी गरेको हो । माङसेबुङ गाउँपालिकाभित्र स्थायी बसोबास गरी कुनै स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान गरेको अध्यक्ष राईले बताए ।

त्यसैगरी, माङसेबुङले कुनैपनि कारणले मृत्यु भएका गाउँपालिकाभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत समेत पाँच हजार सहयोग उपलब्ध गराउने तयारी समेत गरेको छ । मृत्यु भएको ३५ दिनभित्र मृत्युदर्ता गराई गाउँपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष राईले बताए ।

माङसेबुङ गाउँपालिकाले ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ र ‘दाहसंस्कार खर्च कार्यक्रम’ का लागि लागि चालु आर्थिक वर्ष २०८१/०८२ मा पाँचरपाँच लाख बजेट विनियोजन गरेको छ । माङसेबुङ गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा तीन सय ९३ जनाले जन्मदर्ता र एक सय १७ जनाले मृत्युदर्ता गरेको माङसेबुङ गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख मनकुमार मगरले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिकाको जनसङ्ख्या १६ हजार आठ सय १० रहेको छ । जसमध्ये महिलाको सङ्ख्या आठ हजार तीन सय ३३ र पुरुषको सङ्ख्या आठ हजार चार सय ७७ रहेको छ । यसअघि दुवै कार्यक्रम इलामको देउमाई नगरपालिकाले सञ्चालन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार