इलाम । इलाममा जारी अन्तर क्याम्पस गोल्डकपको उपाधिको लागि दमक बहुमुखी क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पस धरान भिड्ने भएका छन् । दमकले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम र धरानले गौरादह कृषि क्याम्पसलाई हराएर उपाधि भेट पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा दमकले इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराएको थियो । दोश्रो सेमिफाइनल खेलमा धरानले गौरादहलाई १–० ले हराएको छ । धरानको जितमा इन्सन राईले गरेको गोल नै निर्णायक बन्यो । पुष १३ गते हुने फाइनल खेलको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा दमक बहुमुखी क्याम्पस झापा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार सुनसरी, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङ, दार्जिलिङ गर्भमेन्ट क्याम्पस भारत, गौरादह कृषि क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस धरान र मेची बहुमुखी क्याम्पस झापाको सहभागिता रहेको थियो ।