फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ बुद्धपार्कमा रहेको मन्कसहुड कृषि फर्म प्रा. लिले अलैची गुणस्तर सुधारको कार्यलाई अघि बढाएको छ । २०७१ सालमा स्थापना भएको फर्मले अलैची खेती विकास र अलैचीको टिश्यु कल्चर प्रविधि विकासको कार्यलाई अघि बढाएको हो । नेपालमा अलैंची उद्योगको वृद्धि र दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताउँदै नवीन कृषि प्रविधिहरूको परिचय गराउन र अलैंची उत्पादनको गुणस्तर सुधार गर्न अग्रणी भूमिका निर्वाह गरेको संस्थापक रोविन राईले बताए ।
उनले उन्नती परियोजनासंगको साझेदारीमा २०७३ सालबाट फार्मले दिगो खेती अभ्यास प्रर्वद्धन गर्ने र नेपालमा अलैंचीको टिशु कल्चर प्रविधि अगाडि बढाउन महत्त्वपूर्ण प्रगति गरेको बताए । अलैची खेतीमा मेरिस्टेम टिश्यु कल्चर गरिएको बिरुवाहरू उच्च गुणस्तरको, आनुवंशिक रूपमा एकरूप, र रोग–मुक्त बिरुवा उत्पादन हुने भएकाले भाइरस संक्रमणबाट मुक्त राखेर स्वस्थ उत्पादन सुनिश्चित गर्ने बताए ।
फार्ममा प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले भ्रमण गर्दै इलाम, पाँचथर, र ताप्लेजुङमा किसानको महत्वपुर्ण आम्दानीको श्रोत अलैची खेती रहेको बताए । उनले उन्नत प्रविधि र टिस्यकल्चरले उत्पादनमा बृद्धि भएपछि प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्याउने बताए ।
स्थानीय समुदाय र बजारः उत्पादन वृद्धि र गुणस्तर सुधारले किसानहरूको आय वृद्धि गर्ने र स्थानीय समुदायहरूलाई आर्थिक लाभ पु¥याउने फार्मका अध्यक्ष प्रज्वल प्रधानले बताए । उच्च गुणस्तरका, रोग–मुक्त अलैंचीले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने भएकाले निर्यातमा वृद्धि भई राजस्वमा समेत योगदान पुर्याउने लक्ष्य राखिएको प्रधानले बताए ।
फार्मले १ रोपनी ४ आना जग्गामा ल्याब स्थापना गरेको छ । बुद्धपार्क क्षेत्रमा ३० रोपनी जग्गा लिजमा लिएर अलैची खेतीको कामलाई समेत अघि बढाएको छ ।