इलाम गोल्डकप अन्र्तगत फाइनल प्रवेशका लागि घरेलु टिम रेडहर्स फुटबल क्लब इलाम र चर्च बोइज काठमाण्डौ भिड्दैछन् । ए डिभिजन लिग च्याम्पियन चर्च पहिलो पटक इलामको मैदानमा आफ्नो खेल पस्कन आएको हो । उसले सेमिफाइनल प्रवेश गर्न उपाधि दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोेल अन्तरले हराएको थियो ।
यता घरेलु टिमले ए डिभिजन लिग क्ल्ब संकटालाई टाइब्रेकरमा हराएको थियो । इलामको मैदान २ टोली बिचको यो पहिलो भेट हो । घरेलु टिम रेडहर्सले यसअघिको संस्करणको सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । इलामको मैदानमा लिग लिडरलाई घरेलु टिमसंग खेल्न सहज हुने छैन् ।
१८ महिना देखि ए डिभिजन लिग नहुँदा चर्चसंग आफ्नै खेलाडी छैन् । उसले विभिन्न क्ल्बबाट खेलेका खेलाडीहरु समेटेर ‘खेप’ टिम तयार पारेको छ । धेरै राष्ट्रिय टोलीबाट खेलेका खेलाडीहरु भएको कारण घरेलु टिमलाई दबाब दिन सक्ने सम्भावना पनि देखिन्छ ।
चर्चमा आवद्ध धेरै खेलाडीहरु यसअघि विभिन्न क्लबबाट सहभागी हुँदै इलामे मैदानको अनुभब बटुलेका छन् । राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक टिकेन्द्र थापा, छिरिङ लामा, कमल श्रेष्ठ, एरिक बिष्ट, रोहन कार्की, समिर तामाङ र मनिष डाँगी छन् ।
उमेर समुहका प्रशान्त लक्सम र अफ्रिकन खेलाडीहरु इलामको लागि चुनौती बन्न सक्छन् । मनाङ मस्र्याङदीलाई ए डिभिजन लिगको उपाधि दिलाएका प्रशिक्षक सुमन श्रेष्ठले चर्चलाई प्रशिक्षण दिएका छन् । यता घरेलु मैदान र घरेलु दर्शकको साथ रेड हर्सका लागि लाभ हुन सक्छ ।
अर्को तर्फ संकटा विरुद्ध क्ल्बले इलाम बाहिरका ३ खेलाडीलाई टिममा राखेको छ । क्लबमा रहेका सबै खेलाडीहरु टोलकप देखि गोल्डकपसम्म रेडहर्समा रहेर खेल्दै आएकाले एक अर्काको खेल कौशललाई सहज रुपमा बुझ्न सक्छन् । चर्चको तुलनामा घरेलु मैदानमा प्रशिक्षण र विश्राम अवधि बढी पाएको हुँदा रेडहर्सका लागि केही सहज हुन सक्छ ।