Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप माघ ५ गतेबाट

ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप माघ ५ गतेबाट

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १० २०८१


ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप माघ ५ गतेबाट

इलाम । दाेश्राे संस्करणकाे अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप २०८१ आगामी माघ ५ गतेबाट हुने भएकाे छ । क्लब ओएसीसकाे आयाेजनामा माघ १२ गतेसम्म इलामको ठुलाे टुडिखेलमा प्रतियोगिता हुने भएकाे हाे । प्रतियोगितामा ३ विभागिय टिम सहित ८ क्लबकाे सहभागीता रहनेछ ।

क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएकाे छ । प्रतियोगितामा विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी सहित आयाेजक क्लब ओएसीस, गढीमाई एफसी धनगढी, बागमती फुटबल क्लब सर्लाही, भारतकाे मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र सी एफसी सहभागी हुनेछन् ।

विजेताले ४ लाख र उपविजेताले २ लाख रूपैया प्राप्त गर्नेछ । आयोजकले राष्ट्रिय टिमकी कप्तान एवम गाेलरक्षक अञ्जिला तुम्वापाे सुब्बाको कप्तानीमा टिम उतार्ने तयारी रहेकाे जनाएको छ । महिला फुटबलकाे उचाईलाई जिवन्त राख्दै नयाँ खेलाडी उत्पादनकाे लक्ष्य सहित प्रतियोगिता आयाेजना गरिएकाे जनाइएको छ ।

क्लबका अध्यक्ष ध्रुव राईले जिल्लाकाे गरिमा भएकाले सबैकाे सहयोगकाे अपेक्षा रहेको बताए । उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा नेपाली राष्ट्रिय टिमका खेलाडी उतार्न लागिएकाे बताए । अञ्जिला खेलका लागि विदेशमा नगएकाे खण्डमा उनी कप्तान हुने बताइएकाे छ ।

प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको सचिव राेशन राईले जानकारी दिए । काेशी प्रदेश फुटबल संघका सहमहासचिव पूर्ण फत्रले पछिल्लाे समय महिला फुटबल आयाेजना हुन थालेकाले खेलाडी उत्पादन बढेकाे बताए । उनले महिला फुटबलमा स्थानीय सरकारलाई लगानी गर्नुपर्छ भन्ने अनुभुत गराउनुपर्ने बताए ।

यसअघि गत संस्करणमा दिपेन्द्र शिखर फुटबल क्लबलाई हराउँदै मानेभञ्ज्याङ एफसी दार्जिलिङले उपाधि जितेकाे थियाे । इलाममा ११ बर्षपछि विभागीय टिम सहितको महिला फुटबल हुन लागेकाे हाे । यसअधि २०७० पुस २८ बाट माघ ७ गतेसम्म प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल लीग भएकाे थियाे ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार