इलाम : इलाम सदरमुकाममा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ र होटल व्यवसायी संघ इलामले संयुक्त रुपमा चेस प्रतियोगिताको आयोजना गरेको हो । २४ जना खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा काजी राई प्रथम भए
अन्तिम पाँचौ राउण्डमा यामप्रसाद लिम्बूलाई पराजित गर्दै राईले प्रथम स्थान हासिल गर्दा श्रीकृष्ण लिम्बूले दोस्रो, खड्ग लिम्बू तेस्रो, मनिष पौडेल चौथो र तारानिधि घिमिरेले पाँचौं स्थान हासिल गरे ।
यस्तै अन्य बिभिन्न बिधाबाट जम्मा ११ जना खेलाडी बिजयी भएका छन् । बिजयी भएका खेलाडीलाई आज सदरमुकाम मै हुन लागेको होटल ब्यबसायी महासंघ कोशी प्रदेशको अधिबेशन उद्घाटनमा पुरस्कार प्रदान गरिने हाटल व्यवसायी संघ इलामका महासचिब प्रकाश चापागाईले जानकारी दिए ।
पाँच राउण्डसम्म भएको प्रतियोगितामा जिल्ला च्याम्पियन देवी प्रसाद पौडेल ३ अंक जोड्दै छैठौं स्थानमा रहँदा बुद्धिचाल संघ इलामका पूर्व अध्यक्ष यामप्रसाद लिम्बू पनि ३ अंक बटुलेर ७ औं स्थानमा रहे ।
पौडेललाई चौथो राउण्डमा मनिष पौडेल र पाँचौ राउण्डमा श्रीकृष्ण लिम्बूले पराजित गर्दा याम प्रसाद लिम्बूलाई तेस्रो राउण्डमा देवी पौडेल र पाँचौं राउण्डमा काजी राईले पराजित गरे ।
चेस खेलको बिकास संगै यस खेलप्रति खेलाडीको आकर्षण बढाउन होटल ब्यबसायि संघले यस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्घाट महासंघका कोशी प्रदेश अध्यक्ष राजन दंगालले गरेका थिए ।
पछिल्लो समय इलाममा यसखेलप्रति नयाँ नयाँ खेलाडी उत्पादन र जिल्लाका सबै पालिकाहरुमा बुद्धिचाल खेलको बिस्तार बढेसंगै खेलाडीहरुको आकर्षण पनि बढदै गएको हो । प्रतियोगिता स्विस लिगको आधारमा खेलाइएको थियो ।