Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

जाडो लाग्दा पनि सर्पदंशको जोखिम उस्तै

जाडो लाग्दा पनि सर्पदंशको जोखिम उस्तै

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २ २०८१


जाडो लाग्दा पनि सर्पदंशको जोखिम उस्तै

झापा — इलाम नगरपालिका–११ निरपुरका सन्तोष नेम्वाङ पैदल घर जाँदै थिए । घर नजिकै पुगेपछि देब्रे खुट्टामा च्यास्स घोचेजस्तो भयो । मोबाइलको बत्ती बालेर हेर्दा रगत बगिरहेको थियो । ‘केले टोक्यो भनेर यसो वरपर हेरेको त सर्प गुडुल्किएर बसिरहेको रहेछ,’ झापाको चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा उपचाररत नेम्वाङले सुनाए ।

सर्पले डसेको थाहा पाएपछि उनी जिउँदो सर्प बोकेर आफैं बाइक कुदाएर उपचारका लागि राति नै चारआली आइपुगेका थिए । ‘बेलैमा आएकाले ज्यान बच्यो,’ उनले भने, ‘नत्र जे पनि हुने रहेछ ।’ उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई हरेउ नामको सर्पले टोकेको हो । पहाडी क्षेत्रमा पाइने हरियो रङको यो सर्प विशालु हुन्छ । नेम्वाङले अरू पाँच दिन उपचार केन्द्रमा बस्नुपर्ने चिकित्सकले जनाएका छन् ।

चिसो याम सुरु भइसक्दा पनि चारआली उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप कम भएको छैन । गत बुधबार मात्रै सर्पले डसेका ७ जना उपचारका लागि आएका थिए । केही डिस्चार्च भइसके । केही उपचाररत नै छन् । खासगरी गर्मीयाममा सर्पको जोखिम बढी हुने गर्छ । यस पटक भने हिउँद सुरु हुँदै गर्दासम्म सर्पदंशको जोखिम कम हुन सकेको छैन । प्रायः गर्मीमा सर्प जमिन बाहिर निस्किँदा जोखिम धेरै हुन्छ ।

हिउँदमा भने सर्पहरू दुलोभित्र पस्ने गर्छन् । पछिल्लो समय भने कात्तिक मध्य भइसक्दा पनि सर्पदंशको जोखिम कम हुन नसकेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । सर्पदंश उपचार केन्द्रमा भारतीय बिरामीको पनि चाप लाग्ने गरेको छ । भारतको नक्सलबारीबाट मोहम्मद फरिद मेची तरेर आएका थिए । जंगल नजिकै पिसाब फेर्ने क्रममा उनलाई सर्पले डसेको थियो ।

अत्तालिएर उनी राति नै उपचारका लागि नेपाल आएका थिए । उपचार क्रममा थाहा भयो, उनलाई ढोडिया नामको कम विशालु सर्पले डसेको रहेछ । ‘सर्पले टोक्दा हामी आउने ठाउँ चारआलीको सर्पदंशउपचार केन्द्र नै हो,’ मोहम्मदले भने, ‘सीमा क्षेत्रवासीका लागि ठूलो सहयोग भएको छ यो केन्द्रले ।’ भारततिर नजिकै उपचार केन्द्र नहुँदा उनीहरूका लागि यो नजिकको उपचार गन्तव्य बनेको छ ।

झापा, पाँचथर, इलाम र ताप्लेजुङसहित तेह्रथुम जिल्लाबाट पनि केन्द्रमा बिरामी अत्यधिक आउने गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार