Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

रम्फोकमा पाल्युल ज्याङछुप धाग्र्यलिङ गुम्बाको उद्धघाटन

रम्फोकमा पाल्युल ज्याङछुप धाग्र्यलिङ गुम्बाको उद्धघाटन

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १ २०८१


रम्फोकमा पाल्युल ज्याङछुप धाग्र्यलिङ  गुम्बाको उद्धघाटन

फिक्कल । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकमा निर्माण भएको पाल्युल ज्याङछुप धाग्र्यलिङ गुम्बाको उद्धघाटन गरिएको छ । एक कार्यक्रमका बिच सूर्योदय नगर प्रमुख रणबहादुर राई र रिगोटुल्कु रिम्पोछेले संयुक्त रुपमा रिवन काटेर गुम्बाको उद्धघाटन गरेका हुन् । गुम्बा उद्धघाटनपछि औपचारिक कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख रणबहादु राईले धर्मले सबै जातिलाई एकताको सुत्रमा बाध्ने बताए । उनले समृद्ध बन्नका लागि आएका चुनौतीहरुलाई समाधान गर्न गुम्बा मन्दिर लगायतका धार्मिक संस्थाहरुले मद्धत गर्ने बताए ।

उनले काजी पदमचन्द्रको सोच पुरा गर्न ४३ बर्ष लागेको उल्लेख गर्दै त्याग र धैयताबाट मात्र सफलता प्राप्त गर्ने बताए । उनले शिक्षामा सूर्योदय नगरपालिका इलाममै सवैभन्दा बढि लगानी भएको पालिका बताउँदै नतिजा केही बर्षपछि देखिने बताए । राईले नगरले १ अर्बको खानेपानीको योजना अघि बढाएको बताए । उनले गुम्बासम्म आउने बाटोको समस्यलाई आर्थिक बर्ष ०८२÷८३ को बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले गुम्बा शिक्षा प्रदान गर्न चाहे नगरले बजेट व्यवस्थापन गर्ने बताए । उनले रिम्पोछेले बुद्धपार्कलाई फ्रेब्रअरीमा उद्धघाटन गर्न गरेको आग्रहलाई यथाचित सहयोग र समन्वय भएको खण्डमा सम्भव रहने बताए ।

नगरले शिक्षासंगै स्वास्थ्य र कृषिलाई समेत प्राथमिकतामा राखेको बताए । उनले गत आर्थिक बर्षमा नगर अस्पतालबाट ५४ हजार ८९९ जनाले सेवा लिएको उल्लेख गर्दै चालु आर्थिक बर्षको ३ महिनामा २० हजारलाई सेवा प्रदान गरिएको बताए । उनले ८० हजार चालु आर्थिक बर्षमा सेवाग्राही पु¥याउने लक्ष्य रहेको समेत बताए । कार्यक्रमका अतिथि नगर उपप्रमुख दुर्गाकुमार बरालले धर्मले अनुशासन सिकाउने बताए । उनले गुम्बालाई नगर क्षेत्रबाट आवश्यक सहयोग गर्ने बताए । बरालले खानेपानी व्यवस्थापन समितिको संयोजकको हैसियतले गुम्बा क्षेत्रमा पानी आपुर्तिको प्रबन्ध मिलाउने बताए ।

कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्माले गुम्बा निर्माणपछि धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने बताए । उनले नैतिकताका पाठ सिकाउन धार्मिक संस्थाको योगदान अतुलनिय रहेको बताए । शर्माले गुम्बालाई बौद्ध धर्मको आयामको रुपमा स्थापित गराइने बताए । कार्यक्रममा इन्द्र तामाङले स्वागत मन्तव्य र गुम्बाको पुर्नःस्थापनाको बारेमा जानकारी गराएका थिए । उद्धघाटन कार्यक्रममा धर्मगुरु रिगो टुल्कु रिम्पोछे र धर्मगुरु खेन्छेन नाम्ड्रोल छेरिङ रिम्पोछेले छोटो प्रवचन दिएका थिए ।

पेनोर रिन्पोछे बुद्ध धर्मावलम्बी समाजका अध्यक्ष धर्मगुरु खेन्छेन नाम्ड्रोल रिम्पोछेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । धर्मगुरु रिगो टुल्कु रिम्पोछे, टुल्कु छेरिङ्ग दोर्जे रिम्पोछे र टुल्कु साङ्गे सेडुप रिम्पोछेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम सोनाम यल्मोले संचालन गरेका थिए । गुम्बा निर्माणमा ३ करोड भन्दा बढि लगानी भएको बताइएको छ ।

पाल्युल झ्याङ्गछ्युप धाग्र्येलिङ्ग गुम्बाकाे जानकारी
नेपालको पूर्वी जिल्ला ईलाम तत्कालिन फिक्कल गाँउ पञ्चायतको वडा नं.–५ रम्फोक हालको पर्यटकीय नगरी सूर्योदय नगरपालिका वडा नं.–९ मा पूनःनिर्माण भएको यो पाल्युल झ्याङ्गछ्युप धाग्र्येलिङ्ग गुम्बाको शुरुवात स्थापना बि.सं. २०४१ मान्न सकिन्छ । भगवान् बुद्धको अमृतमय प्रसादकैa रुपमा यस क्षेत्रमा उदय हुनुभएको तत्कालिन गोर्खे गाउँपञ्चायतको धापमा बस्नुहुने धर्मगूरु साङ्गे लामाज्यूले यहाँका अन्योलमा रहेका बुद्धिष्टहरुलाई बौद्ध धर्मप्रति सहि रुपमा डोहोर्याउने मनासयले गुम्बा बनाउने चाहना अनुरुप बि.सं. २०३८ सालमा नै तत्कालिन समयका यस क्षेत्रका समाजसेवी, धर्मानुरागी स्थानीय काजी पदम चन्द्रज्यूसँग सामान्य बातचितको क्रममा गुम्बा निर्माणको प्रस्ताव गर्नु भएको थिए छ ।

लामागुरुको चाहना साथै मनको कुरा काजीसाहेबलाई सामान्य बातचितमा नै प्रस्ताबको रुपमा राखी सकेपछी काजी साहेबले पनि हुन्छ म तपाइलाई गुम्बा बनाउन जग्गा त दिउँला तर त्यस स्थानमा गुम्बा नै बनाएर सञ्चालन गर्नुपर्छ भन्ने प्रतिवद्धता राखेपछि लामागुरु, काजी साहेब र स्थानीय समुदायको सक्रियतामा बि.सं. २०४१ सालदेखि गुम्बा निर्माण कार्य शुरुवात गर्नु भएको कुरा अभिलेखमा पाइन्छ । गुम्बाको सिलान्यास तत्कालिन सरकारको प्रमुख प्रकाशचन्द्र लोहनीज्यूको बाहुलीबाटै भएतापनि यथेष्ट सहयोग भने पाउन नसकेको अवस्थामा गुम्बाको पूर्ण निर्माण कार्य सम्पन्न नहुँदै लामा धर्मगुरुज्यूको देहान्त भएको थियो । त्यसपछी बि.सं.२०४७ सालतिर भगवानको आर्शिवादले लामागुरु साङ्गे म्हेमेकै चेला छब्बिसे निवासी लामा श्री वाङडुप पाख्रीनज्यूको चासो र स्थानीय समुदायको साथसहयोगमा गुम्बा निर्माण कार्यलाई अगाडी बढाउदै २०४९ सालमा पूर्णता पाएको थियो ।

तत्कालिन समयमा यस गुम्बालाई थर्पालिङ्ग गुम्बाको नामले स्थानीय स्थानमा चिनाउने गर्दथ्यो । गुम्बा निर्माणपछि सञ्चालनको क्रमहरु अगाडी बढ्दै जाँदा अनेक खाले बाधा र चुनौतीहरुलाई छिचोल्दै गुम्बा आफ्नो सामान्य गतिमा संचालनमा रहेको थियो । यो चरणमा धेरै महानुभावहरुले समितिमा रहेर गुम्बाको सञ्चालन र वृद्धिविकासमा योगदान दिनुभएको थियो । बि.सं. २०६० सालमा नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि अध्यक्ष श्री गजेन्द्र काजीज्यूलाई ब्यवस्थापनको नेतृत्व जिम्मेवारी समुदायले दियो।

अध्यक्ष श्री गजेन्द्र काजी बौद्ध शिक्षा र गुम्बा सञ्चालनमा थुप्रै ज्ञान हासिल गरेको ब्यक्ति भएकोले गुम्बाको प्रमुख लामाको आवश्यकता महशुस गरेर श्री वाङ्डुप लामाज्यूलाई नै प्रमुख लामाको नियुक्ति दिएर गुम्बाको नियमित पाठपुजा र धर्मसँग सम्वन्धित अन्य कार्यहरु अगाडी बढाउनु भयो। यहि समयमा श्रद्धेय धर्मगुरु बोकार रिम्पोछेज्यूको समेत गुम्बामा आगमन भइ एक ठूलो पूजाको आयोजना भएको र सोही समयमा रिम्पोछेज्यूबाट थर्पालिङ्ग गुम्बाको नाम परिवर्तन भइ ज्याङ्गछुप धेछेन छोलिङ्ग नामाकरण भएको थियो । प्रमुख लामाज्यूको पारिवारिक कारण र गृहस्थी ब्यस्तताले बि.सं. २०७० सालमा गुम्बाको प्रमुख लामा पदबाट राजीनामा दिनु भएपछि स्थानीय रम्फोक निवासी लामा योन्तेन दोर्जेज्यूलाई बि.सं.२०७१÷०२÷०३ गतेबाट प्रमुख लामाको रुपमा नियुक्ति दिइएको थियो ।

लामा योन्तेन दोर्जेज्यू सानै उमेरदेखि घर छाडेर भारतको गुम्बा र बौद्ध अध्ययनकेन्द्रमा अध्ययन गर्दै आउनेजाने क्रममा नेपालको फार्पिङ्ग गुम्बामा श्रद्धेय लामा धर्मगुरु खेन्छेन नाम्ड्रोल छिरिङ्गज्यूको शरणमा पुग्नु भएको रहेछ र त्यही बसेर गुरुको शरणमा नै बौद्धधर्मको थप ज्ञान सीप र कलाहरु हासिल गर्दै जाने क्रममा नै यस गुम्बाको प्रमुख लामाको रुपमा नियुक्ती लिनु भएको थियो । गुम्बाको नियमित कर्महरु संचालन भैरहेको नै थियो भने गुम्बा जिर्णबन्दै गएको अवस्था पनि थियो। यसैबीचमा मिति २०७३÷१२÷०८ मा प्रमुख लामा योन्तेन दोर्जेको असामयिक निधन हुन गयो ।

लामा योन्तेन दोर्जे श्रद्धेय धर्मगुरुको एक असल चेलाको रुपमा रहनुभएकोले गुरुसँगको वातचितमा योन्तेन दोर्जेज्यूले आफ्नो सम्पतिबाट नै एउटा गुम्बा निर्माणको बारेमा प्रस्ताव गर्नुभएको रहेछ । वहाँको मृत्युपश्चात श्रद्धेय खेन्छेन नाम्ड्रोल छिरिङ्गज्यू लगायतको टोलिले रम्फोकमा रहेको गुम्बा र योन्तेन दोर्जेको पारीवारीक जग्गा जमिनहरुको अवलोकन गर्नुभए पछि धेरै स्थानमा गुम्बा बनाउनु भन्दा भएको गुम्बाको पूर्नःनिर्माण गरेर लाने विषयमा समुदायको सहमति भएमा राम्रो हुने विचार ब्यक्त गर्नु भयो । स्थानीय समुदाय, राजनीतिक दलको प्रतिनीधिहरु, समाजका अगुवा ब्यक्तित्वहरु, लामा योन्तेनदोर्जेको परिवार र तत्कालिन गुम्बा समितिको पदाधिकारीहरु सहितको पटक–पटकको बैठक अनुसार गुम्बाको पूर्नःनिर्माण र जिर्णोद्वार हुने साथै दिर्घकालिन रुपमा गुम्बा संचालनको लागि समेत गूरुको आदेश तथा बिचार अनुसार नै गर्नका लागि सहमत भए पछि मिति २०७४–०७– २८ गतेको तत्कालिन गुम्बाको बार्षिक साधारण सभाबाट श्रद्धेय गूरु नाम्ड्रोल छिरिङ्गज्यको संरक्षणमा संचालनमा रहेको पेनोर रिम्पोछे बौद्धधर्मावलम्वी समाज नेपालको नाममा गुम्बाको नामको चल अचल सम्पत्तिहरु हस्तान्तरण गरेर साविकको सानो र जिर्ण अवस्थाको गुम्बालाई पूर्नःनिर्माणको लागि अगाडी बढाइएको थियो।

  • निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यलाई कोभिड–१९ जस्तो महामारीले समेत असर पार्न गयो । यद्दपी हाल गुम्बाको मूल भवनमा माथिल्लो ३ वटा तलामा पाठपूजाको लागि भगवानको प्रतिमाहरु स्थापना गरेर राखिएको छ भने भूइतला सामुदायिक उपयोग समेत हुनेगरी हलको रुपमा निर्माण भएको छ । स्थानीय समुदाय, पेनोर रिम्पोछे बुद्ध धर्मावलम्बी समाज नेपाल साथै श्रद्धेय खेन्छेन नाम्ड्रोल छेरिङ्ग रिम्पोछे ज्यूको पहलकदमी र आवश्यक निर्देशनमा गुम्बाको पूर्नःनिर्माणको कार्य सम्पन्न भएर आज समुद्घाटन भएको छ ।
    २) प्रस्तावित काम-योजनाहरुः
    यस गुम्बाको मूल भवन पुनःनिर्माण भए सँगसँगै विभिन्न संरचनाहरुको निर्माणको काम समेत जोडिएर आएको छ । मुल रुपमा किचन घर, लामा बस्नको लागि आवाश, सहज मोटरबाटो, खानेपानी, शौचालय आदि अनिवार्य आवश्यक पूर्वाधारहरु रहेका छन् । उक्त कार्यलाई प्राथमिकतामा राखेर क्रमैसँगले अगाडि बढाउनको लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा राखिएको छ। यो बिशाल संरचनालाई पूनःनिर्माण गरेर सञ्चालनको चरणमा पुर्याउन सकिएकोले अबको दिनमा बिशेष गरेर स्थानीय सरकारको ध्यान आकृष्ट होस भन्ने चाहना समेत राखेका छौं।
    फाइदा वा लाभः
  •  पञ्चायतकालीन इतिहास बोकेको सार्वजनिक गुम्बाको पूर्नःनिर्माण भएको छ ।
    – गुम्बाको पूर्नःनिर्माणले गर्दा सूर्योदयको धार्मिक पर्यटनमा समेत योगदान पुग्नेछ ।
    – स्थानीय समुदायका मानिसहरु बौद्ध दर्शन तथा धार्मिक आध्यात्मिक ज्ञानको लाभ लिनेछ ।
    – राष्ट्रको एउटा सम्पदा सार्वजनिक सम्पत्तिको निर्माण तथा संरक्षण भएकोछ ।
    – स्थानिय समुदायको धार्मिक आस्था र विश्वासको कदर भएकोछ।
    – स्वर्गीय लामागुरुहरुको चाहना र इच्छाहरु समेत पूरा भएको छ ।
    – नगरपालिकाकाे पर्यटकीय गन्तब्यको रुपमा पूर्वाधार निर्माण भएको छ।
  • https://www.facebook.com/Localsandesh/posts/pfbid0opeGmCWJfrEwFwu46qjnvz599hKKRu8Yg4RDNRddb7cyyjGB9SiVMn21ZipNYsbFl

प्रतिक्रिया
सम्बन्धित समाचार