इलाम । नेकपा (एमाले)को नयाँ नेतृत्व चुन्न आजबाट ११ औ जिल्ला अधिवेशन सुरु हुँदैछ । अपराहन्न ११ बजे इलामको गौतमबुद्ध सभागृहमा अधिवेशन उद्घाटन हुने भएको हो । इलामको अधिवेशनका लागि नेकपा एमालेका उपाध्यक्ष गुरु बराल आज इलाम आउँदैछन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम स्थायी समिति सदस्य शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेताहरुको सहभागीता रहनेछ ।
अधिवेशनको २ बजेसम्ममा उद्धघाटन सत्र सम्पन्न गर्ने कार्य तालिका रहेको छ । ३ बजेदेखि बन्द सत्र सुरु गरेर प्रतिवेदन माथि छलफलको कार्यक्रम राखिएको छ । आज नै मनोनयन दर्ता गरेर भोलीसम्ममा नयाँ नेतृत्व चयन गरिने भएको छ । अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिएपनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण एमाले इलामको जिल्ला अधिवेशन स्थगित थियो ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । तर, नयाँ पदाधिकारीका आकांक्षीको लर्काे लामो भएकाले सर्वसम्मत् रूपमा निर्वाचित हुने सम्भावना थोरैमात्र देखिएको छ । पार्टीको जिल्ला अध्यक्ष बन्न अहिलेसम्म गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा.देवी क्षेत्री दुलालको नाम चर्चामा छ ।
जिल्ला कमिटीको एक उपाध्यक्ष पदका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ । वर्तमान उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । सचिव पदमा अहिलेसम्म वर्तमान उपसचिव रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले दाबी गरेका छन् ।
उपसचिव पदमा भने धेरैजनाको नाम चर्चामा छ । हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राई, विष्णुमाया भुजेल, विष्णुमाया आचार्य, छवि श्रेष्ठ, प्रेम लिम्बू, याम (याबरा) थुलुङ, मनकुमार बराइलीलगायतले उपसचिव पदमा आकांक्षा देखाएका छन् । अधिवेशनका लागि कात्तिक २१ गते नै पाँच सय ८३ प्रतिनिधि छानिएका छन् ।
जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानिएको प्रतिनिधि व्यवस्थापन समिति संयोजक समेत रहेका जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए । धेरैजसो वडा र कमिटीहरूमा सर्वसम्मत् रूपमा प्रतिनिधि छानिएपनि कतिपयमा निर्वाचनप्रक्रियाबाटै छानिएका छन् ।