इलाम : पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरेको व्यवसायीक उत्पादन बढ्दो छ । अकबरे खुर्सानी संकलन गरि अचार बनाउने उद्योग खुलेपछि इलाममा अकबरे खोर्सानीको व्यवसायीकता बढेको हो । ‘६ अ’ को खेती र उत्पादनका लागि अग्रणी जिल्ला इलाममा अहिले अर्को ‘अ’ थपिएको छ, त्यो हो अकबरे खुर्सानी ।
इलाममा अकबरे खुर्सानीमा किसानको आकर्षणसँगै उत्पादन पनि बढेको छ । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् । अहिले खोर्सानी किन्न व्यापारीहरू किसानको बारीसम्मै पुग्न थालेका छन् । व्यापारीहरु नै बारीमा खोर्सानी खरिदका लागि पुग्न थालेपछि खोर्सानीको मूल्य समेत बढेको छ । खोर्सानी संकलन गरि अचार उत्पादन गर्ने उद्यमीको संख्या पनि बढेको ब्यापारीहरुको भनाइ छ ।
इलाम नगरपालिका-७ मा रहेको कमला बास्कोटाको उद्योगमा हरेक वर्ष २० हजार किलो अकबरे संकलनबाट अचार उत्पादन हुन्छ । उद्योगले अकबरे खोर्सानी यो वर्ष ३ सय ७५ देखि ४ सय रुपैयाँमा खरिद गर्दै आएको छ । संकलन भएको अकबरे खोर्सनी एक वर्षमा बिक्रि गर्नुपर्ने हुन्छ । उद्यमीले अकबरे ड्रममा पानी र नुनमा भिजाएर राख्ने गर्छन् ।
अकबरे खोर्सानी नुनमा भिजाएर दाना, पिसेको पेष्ट, अचार, दाना फुटाएर र सुख्खा बनाएर बिक्रि गर्ने गरेको उद्यमी कमला बास्कोटाले बताइन ।