सन्दकपुर (माबु) । समाज सुधारक तथा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १ सय ४० औँ जयन्तीमा सन्दकपुर ४ माबुको हाङ्मादेनमा मनाइने भएको छ । हाङ्मादेनमा फाल्गुनन्दको शालिक अनावरण, मन्दिर उद्घाटन हुने भएपछि धर्मअनुयायीको सन्दकपुर ४ को माबुमा बाक्लो उपस्थिति रहेको छ । माबुको हाङ्मादिनमा किरात फाआप मिङ्सो माङ्हिम निर्माण गरिएको छ ।
राष्ट्रिय विभूति समाजसुधारक फाल्गुनन्दको एक सय ४०औं जन्मजयन्ती अवसर पारेर कात्तिक २५ मा माङ्हिम उद्घाटन गर्न लागिएको हो । किरात धर्मगुरु आत्मानन्द लिङ्देनले माङ्हिम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फाल्गुनन्दको नवनिर्मित पूर्णकदको सालिकसमेत अनावरण गरिँदैछ । एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो ।
फाल्गुनन्द जयन्ती अवसरमा कात्तिक २२ मा गालीश्राप बहन्ती (साकमुरा वदेम्मा सेवा) , २३ मा येत लाधुङ नाम्धुङ सेवा, २४ मा विश्व शान्ति तथा मानव एकता र चराचर जगत्को शान्ति कामना गर्दै येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ ।
२५ गते माङ्हिम उद्घाटन, सालिक अनावरण, सम्मानपत्र वितरण, कृति विमोचन तथा विभिन्न जातीय धार्मिक, संस्कृतिक झाँकी प्रदशर्नन गर्ने आयोजकको तयारी छ । त्यसै साँझ एक हजार एक सय आठ दीप प्रज्वलन, माङलाङ केलाङलगायत विभिन्न कलाकारको सांगीतिक प्रस्तुतिसमेत राखिएको छ । कार्यक्रममा देश विदेशबाट सयौँको संख्यामा किराँत धर्म अनुयायीहरुको उपस्थिति रहेको हो । कार्यक्रममा नेपाली काग्रेसका नेता संघीय सासंद शेखर कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, पूर्व मन्त्री समसेर राई, प्रदेश सभा सदस्य गोविन्द गिरि, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग लगायत अतिथिहरुको उपस्थिति रहेने छ ।
जन्मजयन्ती मनाउन धनप्रसाद लिम्बूको संयोजकत्वमा एक सय आठ सदस्यीय आयोजक समिति र प्रशान्त साउदेन लिम्बूको संयोजकत्वमा दुई सय आठ सदस्यीय आर्थिक समिति गठन गरिएको थियो ।
मदिरा प्रतिबन्ध
किराँत धर्मगुरु आउने भएपछि सन्दकपुर गाउँपालिका वडा ४ ले वडाभित्र सीमा तोकेरै मदिराजन्य वस्तु प्रतिबन्ध गरेको छ । वडाले सूचना नै जारी गरी पूर्वमा धुवाँखोला, पश्चिममा तीनकुने, उत्तरमा भीरगाउँ र दक्षिणमा हाङ्मादेनभित्रको क्षेत्रमा मदिराजन्य वस्तु विक्री, वितरण, सेवन र ओसारपसारमा प्रतिबन्ध गरेको हो ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४०औं जन्मजयन्ती मनाउन किरात धर्मगुरु आत्मानन्द लिङ्देन यहाँ आउने भएपछि वडाले मदिरामा रोक लगाएको वडाअध्यक्ष ढाल बहादूर गुरुङ्गले जानकारी दिए । कात्तिक २५ मा मनाइने जन्मजयन्तीका लागि कात्तिक २२ देखि २५ सम्म मदिरा निषेध गरिएको उनले बताए ।