Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आइसिसी यू–१९ विश्वकप छनाैट : थाइल्यान्ड माथि नेपालकाे जित

आइसिसी यू–१९ विश्वकप छनाैट : थाइल्यान्ड माथि नेपालकाे जित

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २२ २०८१


आइसिसी यू–१९ विश्वकप छनाैट : थाइल्यान्ड माथि नेपालकाे जित

इलाम । नेपाली महिला क्रिकेट टोलीले आइसिसी यू–१९ विश्वकपअन्तर्गत बुधबार एसियन छनोटमा थाइल्यान्डलाई ६७ रनले हराएको छ । युएईको अजमान मैदानमा भएको छनोट प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर १०२ रनको योगफल बनाएको थियो ।

प्रत्युत्तरमा थाइल्यान्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाएको थियो । थाइल्यान्डमाथिको सहज जितसँगै नेपालले सन् २०२२ मा यू–१९ विश्वकपकै छनोटमा व्यहोरेको हारको बदला लिएको छ । गत संस्करणमा नेपाल एसियन छनोटमा तेस्रो भएको थियो ।

नेपालको जितमा पूजा महतोले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा सर्वाधिक ३५ रन बनाइन् । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरेकी थिइन् । उनी साइमाको ओभरमा बोल्ड भइन् । बलिङमा पूजाले तीन ओभर बलिङ गरेकी थिइन् । उनले एक मेडन राखी ३ रन खर्चेर दुई विकेट लिइन् ।

पूजाले थाइल्यान्डविरुद्ध प्रतिओभर १ रनरेटमा बलिङ गरेकी थिइन् । उनी १४.४ ओभरमा आउट हुँदा नेपालले स्कोर बोर्डमा ७२ रन जोडेको थियो । पूजाले सोनी पाख्रिनसँग तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई सुधार गरिन् । दुवैले साझेदारी गर्नुअघि नेपाल ५.४ ओभरमा १९–२ को कमजोर अवस्थामा थियो । नेपालको जितमा महत्वपूर्ण योगदान दिएकी पूजा खेलकै म्यान अफ दी म्याच भइन्

विश्वकप छनोटमा चार राष्ट्रबिच प्रतिस्पर्धा भइरहेको छ । नेपाल, युएई, कुवेत र थाइल्यान्डले एकआपसमा डबल राउन्ड रोबिन खेल खेल्नेछन् । सहभागी हरेक टोलीले अर्को टोलीसँग दुई–दुई खेल खेल्नेछन् । डबल राउन्ड रोबिन खेलमा सर्वाधिक अंक बटुल्ने एक राष्ट्र अर्को वर्ष मलेसियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ । अहिलेसम्म मलेसियामा विश्वकप खेल्ने १६ मध्ये १५ टोलीले स्थान पक्का गरेका छन् ।

यही एसियन छनोटबाट एक राष्ट्र अन्तिम टोलीका रूपमा रहनेछ । गत संस्करणको शीर्ष १० टोली, आयोजक मलेसिया क्षेत्रीय छनोट जितेका नाइजेरिया, सामोअ, स्कटल्यान्ड र अमेरिकाले स्थान सुरक्षित गरेका छन् । अमेरिका क्षेत्रमा अन्य टोली नहुँदा अमेरिकाले सीधै विश्वकपमा स्थान बनायो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार