फिक्कल । इलामको पश्चिमी पालिका फाकफोकथुम गाउँपालिकामा गत असोज ९ गतेबाट परेको अविरल बर्षाले २७ परिवारलाई पूर्ण रुपमा विस्थापित गरेको छ । गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई उपलब्ध गराएको विवरण अनुसार वडा नं ६ मा सवैभन्दा बढि विस्थापित भएका छन् । वडा नं ६ का १६ परिवार र वडा नं १ का ८ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
त्यस्तै ४, ५ र ७ मा १÷१ परिवार विस्थापित भएका छन् । अधिकांश परिवारको घर सहित जग्गा जमिन लच्कँदै पहिरो गएको छ । त्यस्तै गरी ५५ घरधुरी बर्षाको कारण गएको बाढी पहिरोबाट आंशिक क्षति पुगेको छ । पहिरोले विद्यालयहरुमा समेत असर पु¥याएको छ । बिजयटार आवि, मालिका आवि, जलकन्या आवि, जलपा मावि, जानकी मावि, सिंहदेवी मावि र लक्ष्मी आविमा पहिरो गएकोको कारण अध्ययनका लागि जोखिम देखिएको छ ।

बाढी पहिरोका कारण सडकहरुमा क्षति पुगेकाले आवतजावतमा समेत कठिनाइ पुगेको छ । कतिपय स्थानमा सडक छिनेका छन् भने धेरै स्थानमा सडक बगाएको छ । स्थानीय सरकारको प्रयासमा अहिले ती सडकहरु सुचारु भएका छन् । बाढी पहिरोबाट एकतप्पा स्वास्थ्य चौकी र फुएतप्पा स्वास्थ्य चौकीमा असर पु¥याएको छ । फुएतप्पाको स्वास्थ्य चौकी पहिरोले भवन पुरै बगाएपछि वडा कार्यालयमा सारिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए ।
एकतप्पाको स्वास्थ्य चौकी माथि पहिरो जानुका साथै भवन जिर्ण भएको छ । बाढी पहिरोका कारण १६९ रोपनी क्षेत्रफलमा लगाइएको धानवाली, अलैची, उत्तिस नष्ट भएको छ । बाली लगाइएको जग्गा र वडा नं ६ बाट विस्थापित भएका १६ परिवारको करिब २ सय रोपनी खेतीयोग्य जमिन पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेको छ ।
बाढी पहिरोबाट पालिकाका विभिन्न वडामा संचालित ६ वटा लघु जलविद्युतमा क्षति पुगेको छ । छाँगेटार लघु जलविद्युत, फाकफोक खोला तेश्रो जलविद्युत आयोजना, फाकफोक खोला चौथो जलविद्युत आयोजना, थावा खोला रैकर जल विद्युत आयोजना, थावा खोला जलविद्युत आयोजना र देउमाई खोला लघु जलविद्युत आयोजनाको कुलो मुहानमा बगेको छ ।
पालिका क्षेत्रमा संचालन भएको २४ वटा सिचाई आयोजनाको विभिन्न स्थानमा पहिरो गई क्षति भएको छ । पहिरोका कारण ७ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानी आयोजनाको कतै पाइप र ट्याङकीमा क्षति पुगेको छ भने कतै मुहानबाट पाइप बगाएको छ ।