Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

उत्तरी इलामको पहिचान कागे फुटबल

उत्तरी इलामको पहिचान कागे फुटबल

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक ४ २०८१


उत्तरी इलामको पहिचान कागे फुटबल

फिक्कल । नेपालमा फुटबल प्रतियोगिताले निरन्तरता पाउन सक्दैन् । राष्ट्रिय स्तरको गोल्डकप देखि टोलकपसम्म ३ दशक पार गरेका प्रतियोगिता सिमित मात्र छन् । तर इलामको उत्तरी क्षेत्र पर्यटकीय गाउँपालिका सन्दकपुर – ५ जमुनामा विगत ५ दशक देखि कागे फुटबल प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताको सुरुवाती मितिको यकिन तथ्यांक नभेटिएपनि ५ दशक पार गरेको पूर्व फुटबल एवम कागे नकाउट फुटबल प्रतियोगिताका सचिव दपर्ण गुरुङ बताउँछन् । १० बर्षे जनयुद्ध होस् वा कोभिड महामारी कागे फुटबल रोकिएन् ।

‘ विगत ५ दशक देखि निरन्तर कागे फुटबल हुँदै आएको छ । जनयुद्धको समय होस् वा कोभिड महामारी रोकिएन् । जनयुद्धकालमा माओवादीहरुसंग बसेर छलफल गरेको थियो । वार्ता गरेर स्कुलको कार्यकक्षमा एक घन्टा बसेर पेस्तोल राखेर कुरा गरे तर नडराइ फुटबल संचालन गरेको हो । ’ गुरुङले भने ‘ कोभिडको समयमा स्वास्थ्य जोखिमका कारण पनि बाहिरका टिमहरुलाई बोलाइएन् वडा स्तरिय भए पनि प्रतियोगिता आयोजना गरिएको थियो ।’

दशैपछि तिहारलाई लक्षित गरेर आयोजना हुँदै आएको प्रतियोगिता जमुनाबासीहरुलाई एकै ठाउँमा भेला पार्ने माध्यम समेत हो । विदामा आएकाहरु भेटघाट र भलाकुसारी गर्नका लागि समेत फुटबल मैदानमा आउने गरेको गुरुङ स्मरण गर्छन् । ‘ दशै बिदामा आएकाहरु मैदानमा नै भेटघाट र भलाकुसारी गर्छन् । सुख दुःखका कुराहरु बाड्न थलो समेत बन्न सफल भएको छ ।’ कागे फुटबलले राष्ट्रिय टोलीका मिडफिल्डर दर्शन गुरुङ, छिरिङ गुरुङ जस्ता खेलाडीहरु जन्माएको छ ।

default

कागे फुटबलबाटै जन्मिएका दर्पण गुरुङले ६० को दशकमा बौद्ध फुटबल क्लबबाट शिर्ष डिभिजनको फुटबल खेले । अहिले उनी प्रतियोगिता सम्पन्न गर्न सचिवको भुमिकामा रहेका छन् । खेलकुद पर्यटन प्रर्वद्धनसंगै स्थानीयको आय स्तरमा समेत कागे फुटबलको योगदान रहेको देखिन्छ । फुटबलको दौरान १० दिनमा करिब ३०÷४० लाख माथिको कारोवार हुने गरेको आयोजक समितिका पूर्व अध्यक्ष एवम एन्फा रेफ्री उमेश गुरुङ बताउँछन् ।

‘मैदान वरिपरी टहरामा बनाइएको खाजा पसलहरु भिडाभिड हुन्छ । झन्डै २० वटाको हाराहारीमा राखिएको पसलबाट राम्रो व्यपार हुँदै आएको छ ।’ फुटबल प्रतियोगितासंगै काग तिहारको दिन फाइनल संचालन हुने प्रतियोगिता मैदान आसपास मेला समेत लाग्ने गरेको छ । ९ साइडमा संचालन हुने प्रतियोगिता यस बर्ष कार्तिक ५ गतेबाट हुँदै आएको । प्रतियोगितामा इलाम र झापाका २० टिम सहभागी हुदैछन् ।

विगतका बर्षहरुमा सन्दकपुर गाउँपालिका–५ जमुनाको घुम्तीडाडाँमा संचालन हुँदै आएको प्रतियोगिता ३ बर्ष देखि निर्माणाधिन गजाधर – धनमाया रंगशालामा हुदैछ । प्यारापिट सहितको रंगशाला धमाधम निर्माण हुँदै आएको छ । यस बर्ष प्रतियोगितामा भेट्रान्स टिमको समेत सहभागिता रहेको छ । प्रतियोगितामा नेपालको मात्र नभएर बेलायतमा रहेको नेपालीहरुको टिम इलाम एफसी युके भेट्रान्स सहभागि हुँदैछ । सो टिमबाट नेपाली राष्ट्रिय टिमका पूर्व डिफेन्डर लोकबन्धु गुरुङ समेत सहभागि हुँदैछन् ।

आफ्नो गृह पालिकामा हुने प्रतियोगितामा १४ बर्षपछि सहभागि हुन पाएकोमा गुरुङ उत्साहित छन् । ‘ आफ्नो गाउँमा भएको प्रतियोगितामा पुरानो याद ताजा गर्न हामी बेलायतबाट आउँदैछौ ।’ उनले भने ‘ सारै धेरै उत्साहित छु । आफन्तहरुको माझमा खेल्नु आफैमा सौभाग्य ठानेको छु । ’ भेट्रान्स तर्फ भारतको रेलिङ भेट्रान्स सहित ११ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।

भेट्रान्स तर्फ २० हजार र १० हजार रुपैया पुरस्कार राखिएको छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई समेत विधागत पुरस्कार राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार