इलाम– माथिल्लो क्षेत्रमा धाँजा फाटेर झनै जोखिमपूर्ण भएपछि मेची राजमार्गको राजदुवालीमा भइरहेको मर्मतको काम अघि साँझदेखि स्थगित भयो । अब के हुन्छ त ? मेची राजमार्गको मर्मत कहिलेसम्म रोकिएको हो रु विकल्प के हुनसक्छ ? हामीले डिभिजन सडक कार्यालयका इन्जिनियर विपिन ढुंगानालाई यी प्रश्न सोध्यौं । इन्जिनियर ढुंगानाका अनुसार आज मर्मतको काममा माथिल्लोपट्टिबाट पहिरोको जोखिम भयो । ‘रात पनि परेकाले माथिसम्म अवस्था कस्तो छ भन्ने राम्ररी हेर्न भ्याइएन,’ उनले भने, ‘आजलाई बरु स्थगित गरेर भोलि फेरि एक पटक अवलोकन गर्ने निर्णय भयो ।’
उनका अनुसार डिभिजनले फेरि यो क्षेत्रको मर्मत कोसिस गर्नेछ । तर, आजैदेखि वैकल्पिक भनिएको गोदक–जोगमाई खोला–तिल्केनीको वैकल्पिक सडकको पनि निरीक्षण गरिएको छ । ‘डिभिजनले अहिले नै मेची राजमार्गलाई त्यागिहाल्ने अवस्था रहँदैन । सकेसम्म, हुनेसम्म यहींबाट बाटो खुलाउने हो,’ इन्जिनियर ढुंगानाले भने, ‘तर, सँगसँगै वैकल्पिक सडक पनि हेरिसक्यौं, अहिले पनि प्रमुख सर (डिभिजन प्रमुख पवन भट्टराई) वैकल्पिक सडकको जोगमाई खोलामा निरीक्षणमै हुनुहुन्छ । हामी दुवैतिरको काम एकैपटक गर्नेछौं ।
उनले मेची राजमार्गबाट भएपनि वैकल्पिकबाट भएपनि सकेसम्म चाँडै सवारी चलाउन प्रयत्न गर्ने बताए । उनले भने, ‘दसैंको मुख छ, सबैको समस्या थाहा छ, हामी रातदिन नसुती भएपनि इलाममा सवारी चल्ने बनाउँछौं, चिन्ता नलिन आग्रह गर्छु ।’ मेची राजमार्ग अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द छ । आइतबार सक्ने लक्ष्सहित हिजो मर्मत सुरु गरिएको थियो । तर, मर्मत गरेभन्दा माथिल्लोपट्टिबाट झनै ठूलो पहिरो आउने सम्भावना बढेपछि काम स्थगित गरिएको हो ।
हिजो राजदुवाली–गोलाखर्क खण्डमा पर्ने यो ठाउँमा काम सुरु गर्नेबित्तिकै माथिबाट पहिरो झरेपछि सवारीका साधन बन्द छन् । करिब ३० मिटर राजमार्गमा पहिरो गएपछि मेचीको ‘लाइफ लाइन’ टुटेको छ । योसँगै झापासँग इलाम, पाँचथर र ताप्लेजुङको यातायात सम्पर्क छिनेको छ । वैकल्पिक मार्गमा जसोतसो साना सवारी गुडेपछि मालबाहक सवारी साधन चल्ने अवस्था छैन । पालिका पेज