फिक्कल । वर्षातपछिको बाढी पोहिरोले पाइपलाइन बगाउँदा सूर्योदय नगरपालिका भित्रका ३ वटा वडामा खानेपानीको समस्या भएको छ । सूर्योदय नगरपालिका भित्रका १६ सय परिवारलाई २४ सै घण्टा पानी आपूर्ती गर्दैै आएको आयोजनाको पाइपलाइन बगाएपछि खानेपानीको समस्या भएको हो ।
सूर्योदय नगरपालिका भित्रका ३ वटा वडामा फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट पानी विरतण हुँदै आएको छ । अशोज १० बाट लगातारा वर्षातपछिको बाढी पोहिरोले खानेपानी आयोजनाको मुहान क्षेत्रमा पाइपलाइन बगाएको छ ।
सूर्योदय नगरपालिका १ को मुहान क्षेत्र श्रीखोलामा ४ सय मिटर पाइपलाइन बगाएपछि सूर्योदय नगरपालिका ८, ९ र १० नम्बर वडामा खानेपानीको समस्या भएको छ । मुहान क्षेत्र श्रीखोला इन्द्रिने दोभानमा पाइपलाइन पुनः राख्न नसक्ने गरि बगाएको आयोजनाका चौकीदार सन बहादूर खड्काले बताए ।
मुहानको २ सय मिटर तलको क्षेत्रमा पोहिरोले पाइपलाइन बगाएको हो । सो क्षेत्रमा अहिले रुट परिवर्तन गरि मर्मतको काम शुरु भएको छ ।
४ सय मिटर पाइपलाइन बगाएपनि रुट परिवर्तन गर्दा ५ सय मिटर पाइप जोड्ने पर्नेछ । वर्षात निरन्तर भएकाले सूर्योदय नगरपालिका ९ को पान्दाम र बागबिरे क्षेत्रको पाइपलाइनमा पनि पोहिरोबाट क्षति भएको छ । सूर्योदय नगरपालिका २ बागबिरेमा २४ मिटर पाइपलाइनमा क्षति पुगेको आयोजनाका व्यवस्थापक विकास कार्कीले बताए ।
मुहानबाट सूर्योदय नगरपालिका १० को फिक्कल बजारसम्म २१ किलोमिटर लामो पाइपलाइन रहेको छ । श्रीखोलाबाट आपूर्ती भएको पानी २४ सै घण्टा उपभोक्तामा वितरण हुँदै आएको थियो । वर्षातपछिको बाढी पोहिरोबाट खानेपानी आयोजनाको ४५ लाख बढी क्षति भएको छ ।
प्रतिसेकन्ड १४ लिटर पानी आपुर्ती भई वितरण हुँदै आएपनि सनिवारबाट उपभोक्ताले खानेपानी उपभोग गर्न पाएका छैनन् । निरन्तर वर्षात भइ क्षति बढेपनि आयोजनाले आइतबारबाट उपभोक्ताका धारमा पानी वितरण गर्ने लक्ष्य रहेको सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गा बरालले बताए ।