इलाम– मेची राजमार्गको इलाममा पर्ने राजदुवाली–गोलाखर्क खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण गएराति साढे ३ बजेतिर माथिबाट पहिरो झरेपछि यो खण्ड अवरुद्ध भएको हो ।
सधैं जोखिमयुक्त रहेको यो खण्डमा माथिबाट ग्याबिनसहितको ढुंगाको पर्खाल खसेको छ । राजमार्ग पूरै नछोपिएपनि गाडी चलाउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।
इलामसहित देशभर बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।
मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापा प्रभावित भएका छन् ।
डिभिजन सडक कार्यालयले वर्षौंदेखि करोडौं रुपैयाँ खर्च गरेपनि यो सडक मर्मत गुणस्तरीय हुन सकेको छैन ।
यहाँको भौगोलिक अवस्था नै कमजोर रहेकाले राजमार्ग जोखिमयुक्त भएको प्राविधिकले बताउनेगरेका छन् । माथिबाट झर्ने पहिरो र राजमार्ग चुँडिएर जाने समस्या भएपछि प्रशासनले गएराति १० बजेदेखि अघि बिहान ३ बजेसम्म यो खण्ड भएर सवारीका साधन चल्न रोक लगाएको थियो । तर, बिहानै साढे ३ बजेतिर माथिपट्टिको पर्खाल राजमार्गमै झरेपछि सवारीका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
योसँगै जिल्लाका दर्जनौं सडक पहिरोले अवरुद्ध भएका छन् ।
यो खण्डको करिब तीन किलोमिटरका दर्जन ठाउँमा यो राजमार्ग धस्सिएको छ । यो खण्डको विकल्प खोज्न चौतर्फी दबाब बढेपनि काम हुन सकेको छैन ।
उपयुक्त विकल्प अभावमा मेची राजमार्गको यो खण्डमा सवारीका साधनले करिब दशकयता सास्ती खेपिरहेका छन् ।