Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सुदुरपश्चिमलाई हराउँदै कोशी प्रदेश सुपर लिगमा प्रवेश

सुदुरपश्चिमलाई हराउँदै कोशी प्रदेश सुपर लिगमा प्रवेश

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज १० २०८१


सुदुरपश्चिमलाई हराउँदै कोशी प्रदेश सुपर लिगमा प्रवेश

इलाम । कोशी प्रदेश एन्फा महिला लिगको दोश्रो चरणमा प्रवेश गरेको छ । आज सम्पन्न आफ्नो अन्तिम खेलमा सुदुरपश्चिमलाई ४–० गोल अन्तरले हराउँदै कोशीले सुपर लिगमा स्थान पक्का गरेको हो । पहिलो हाफमा १–० गोल अन्तरको अग्रता बनाएको कोशीले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो । खेलको २३ औ मिनेटमा समिक्षा मगरको पासलमा पेनाल्टी एरियाबाट ममता राउतले गोल गर्दै कोशीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

खेलको ५१ औ मिनेटमा कोशीले अग्रता दोब्बर बनायो । सुनिता सरकारको क्रममा समिक्षा मगरले कोशीका लागि गोल गरिन् । पुन: ६४ औ मिनेटमा डिबक्सभित्र पुर्णिमा राईले दिएको पासमा सुदुरपश्चिमकी गोलरक्षक टिकेश्वरी साउदलाई बिट गराउँदै समिक्षाले व्यक्तिगत दोश्रो गोल गरिन् ।

८४ औ मिनेटमा कप्तान खुस्मा राईले डिबक्स बाहिरबाट गरेको प्रहार फ्रेममा लाग्दै जाली चुमेपछि कोशी ९ खेलबाट १४ अंकको साथ शिर्ष ५ मा रहँदै सुपर लिगमा प्रवेश गरेको हो । प्लेयर अफ दि म्याच कोशीकी समिक्षा मगर घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् । कोशीको जितसंगै सुपर फाइभ टोलीको टुङ्गो लागेको छ ।

सुपर फाइभमा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससंगै वालिङ नगरपालिका र कोशी प्रदेश प्रवेश गरेका छन् । कोशीको जितसंगै एक खेल अगाडी नै बागमती युथ क्लब र संकटा एफसीको शिर्ष ५ यात्रा रोकिएको छ । आजको खेलमा कोशी पराजित भएको खण्डमा बागमती र संकटा मध्ये १ टोलीले जित निकालेमा शिर्ष ५ को यात्रा तय गर्ने थिए ।

भोलीको खेलमा लिग लिडर एपिएफ र बागमती तथा दोश्रो स्थानको त्रिभुवन आर्मी र कर्णाली प्रदेश खेल्नेछ । लिगको अन्तिम खेलमा शनिबार संकटाले तेश्रो स्थानको नेपाल पुलिससंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार