सन्दकपुर (माईपोखरी) । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरी क्षेत्रमा जैविक विविधता संरक्षणका र पर्यटन प्रवद्र्धनका लागि जोरपोखरी निर्माण गरिएको छ । सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत भएपछि माईपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि जोरपोखरी निर्माण गरिएको हो ।
धार्मिक महत्वको माईपोखरीको मुख्य जलासय क्षेत्रमा डुङ्गा संचालन रोक लगाइएको छ । तर यहाँ पुग्ने पर्यटकहरुको बसाई लम्ब्याउनका लागि मुख्य जलासय नजिकै जोरपोखरी बनाएर डुङ्गा संचालन गर्ने तयारी छ । जसले पर्यटकको माईपोखरी बसाई लम्ब्याउने छ । माईपोखरीको पर्यटन विकासका लागि गुरुयोजना बनाइएको छ । सोहि गुरुयोजना अनुसार जोरपोखरी निर्माण गरिएको हो ।
संघीय सरकारको घुम्नैपर्ने सय गन्तव्यमा माईपोखरी रामसार क्षेत्र छ । त्रिधार्मिक क्षेत्र माईपोखरीमा पुग्ने पर्यटकहरुलाई थप मनोरञ्जन दिन जोरपोखरी निर्माण गरिएको हो । जसले गर्दा रामसार क्षेत्र संरक्षणसँगै पर्यटन प्रवद्र्धन सहयोग पुग्ने सन्दकपुर गाउँपालिका पूर्व अध्यक्ष उदय राईले बताए ।
जोरपोखरी बनाएपछि जैविक विविधता र सुनगोहोरो संरक्षणमा सहज हुनेछ । माईपोखरी क्षेत्रमा २ वटा पोखरी जोड्ने, आकासे पुल बनाउने, कफि सप, सार्वजनीक शौचालय, रेलिङ्ग सहितको पदमार्ग निर्माण हुँदै आएको छ । संघीय सरकारको ४ करोड १० लाख ७० हजारमा पूर्वाधार निर्माण अन्तिम चरणमा छन् ।
बनाइएका पूर्वाधार हस्तान्तरण भएपछि संचालनमा ल्याउने तयारी रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए । माईपोखरीमा पूर्वाधार निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा छ । हिन्दु, बौद्ध, र किराँत धर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख नयाँ वर्ष र हरिबोधनी एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।