इलाम । जिल्लाको सूर्योदय नगरपालिका–५ स्थित श्रीअन्तुमा पर्यटक भरिन सुरु भएकाे छ । झुल्केघाम हेर्नका लागि देशकै अब्बल मानिएको श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको होे । झुल्केघामको दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको चाप बढेको हो । शनिबार सार्वजनिक बिदा हुने भएकाले अत्यधिक पर्यटकहरू श्रीअन्तु पुग्ने गरेका छन् ।
सामान्यतया असोज पहिलो सातादेखि मौसम खुलेसँगै पर्यटकको भीडभाड हुने श्रीअन्तुमा मंसिर अन्तिमसम्म झुल्केघाम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । झुल्केघाम दृश्यावलोकनका लागि श्रीअन्तु धेरै पर्यटकको रोजाइमा पर्दछ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको हो ।
अन्तुसम्म मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीसमेत सञ्चालनमा आउन थालेपछि पर्यटकलाई थप सहजता मिलेको छ । श्रीअन्तुमा बर्सेनि नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौँ पर्यटक आउने गरेका छन् । झुल्केघाम दृश्यावलोकनका लागि नगरपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकेको छ । पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले श्रीअन्तुलाई आम्दानीको स्रोतको माध्यमसमेत बनाएको छ ।
अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् । मौसम खुलेपछि बिहानको सूर्योदय हेर्न रमाउनेको सङ्ख्या उस्तै हुने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउँछन् । उनका अनुसार यहाँका होमस्टे, होटेल र कटेज बुकिङ हुन थालेका छन् । यस वर्ष फेसबुक, ट्विटर, अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाहाटी, आसामबाट ठुलो सङ्ख्यामा भारतीय आएका छन् ।
झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेको अध्यक्ष घिमिरेले बताए । अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण भएको छ । त्यसो त चिया बारीबीचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ ।
सूर्योदयको दृश्यावलोकनका लागि सूर्योदय नगरपालिकाले टिकट लिने गरेको छ । प्रतिव्यक्ति ५० रुपैयाँ लाग्ने गरेको त्यहाँका कर्मचारी दीपेन पुलामी मगरले बताए । मगरका अनुसार चालु आव सुरु भए यता अन्तुमा करिब आठ हजार पर्यटक भित्रिएका छन् । गत आवमा भने करिब एक लाख पर्यटकले अन्तु भ्रमण गरेको तथ्यांक छ ।
फिक्कल नजिक छिपिटारबाट १३ किलोमिटर कालोपत्रे सडक पार गरेर अन्तु पुग्न सकिन्छ । यहाँ ६५ वटा सामुदायिक होमस्टे र होटेल तथा कटेज ८३ वटा रहेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घले जनाएको छ ।
FIle Picture