माई । खोरेत रोग नियन्त्रण आयोजना तथा सम्बन्धित निर्देशिकाबारे सरोकारवालाहरूसँग छलफल कार्यक्रम माई नगरपालिका सभाहलमा आइतबार सम्पन्न भएको छ। माई नगरपालिका र रोङ गाउँपालिका भित्रका सरोकारवालाहरूबीच अन्तरक्रियात्मक छलफल भएको हो। कार्यक्रममा प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले खोरेत रोग नियन्त्रणको मूल उद्देश्य आर्थिक आर्जन गर्नु रहेको र समृद्धि हासिल गर्न समेत आर्थिक आवश्यकता पर्ने भन्दै यो अभियान सफल बनाउन किसान, सहकारी, भ्याक्सिनेटर, प्राइभेट सेक्टर, प्रहरी, जनप्रतिनिधि सबैजनाको सहभागिता रहने विश्वास गरे ।
उनले विश्व बजारमा हाम्रो उत्पादन पुर्याउन गुणस्तर आवश्यक रहेको, त्यो उत्पादन बढाउन विभिन्न रोग र संक्रमण नियन्त्रण हुनुपर्ने र रोग नियन्त्रण गर्नलाई इलामका आठ पालिका आगामी तीन वर्षभित्रमा सक्षम रहने समेत बताए। संघ र प्रदेश सरकारको सहकार्यमा खोरेत रोग नियन्त्रणमा इलामका पालिका सफल हुने विश्वास लिइएको जानकारी दिए ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको आयोजना र माई नगरपालिका तथा रोङ गाउँपालिकाको सहयोग सहकार्यमा छलफल सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता गर्दै माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बुले माई नगरपालिकामा खोरेत रोगको जोखिम रहेको, इलामका तीन चार पालिकाको ट्रान्जिट पोइन्ट माई नगरपालिका भएको जोखिम यस नगरभित्र उच्च रहेको बताउँदै संघ र प्रदेशबाट रोग संक्रमण रोकथामका लागि अलि बढी निगरानी गर्नुपर्ने सुझाव दिए ।

लिम्बुले माई नगरपालिका इलाम जिल्लाको पशु चौपाया निकासी गर्ने बाटो रहेको बताउँदै खोरेत रोग चेकजाँच र निगरानी गर्नका लागि संघ र प्रदेशबाट अलिकति बढी बजेट विनियोजन गर्न सरोकारवालाले सहजीकरण गरिदिनुपर्ने बताए । जिल्ला निकासीमा पशुपन्छी चेक जाँचका लागि शुक्रबारे बजार रहेको चेकपोष्ट भन्दा अन्यथा चेकपोष्ट राख्न नसकिने समेत उनले स्पष्टोक्ति दिए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक डा पशुपति ढुङ्गानाले नेपालमा जोनिङ र कमपार्टमेन्टललाइजेसन सम्बन्धी व्यवस्था, खोरेत तथा सीमाविहीन पशुको अन्वेषण प्रयोगशाला बुढानीलाकण्ठ काठमाडौँका वरिष्ठ पशु चिकित्सक डाक्टर कृष्णराज पाण्डेले नेपालमा खोरेत रोगको वर्तमान अवस्था रोग सभिलेन्स र नियन्त्रणबारे जानकारी र डाक्टर गंगाराम यादवले खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन कार्यविधि २०८१ मा समेटिएका विषयवस्तु तथा आयोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रम बारे जानकारी सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा खोरेत रोगको लक्षण, बच्ने उपाय, समाधान र उपचारका विषयमा समेत छलफल गरिएको थियो। कार्यपत्रमा खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग रहेको र खोरेत रोगको बेलैमा ध्यान पुर्याउन नसकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्ने बताइएको छ । रोगको विषाणु – अति सुक्ष्म – थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी बातावरणमा लामो समयसम्म क्रियाशील रहन, छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण महामारीको रुपमा फैलिन सक्ने जनाइएको छ।

खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, बदेल, हात्ति लगायत खुरफट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग रहेको छ । रोगका किटाणु हावाले अत्याधिक छिटो ६० किलोमिटरप्रति घण्टा फैलाउने, रोगी पशुहरूमा मासु दुध दुधजन्य पदार्थमा लामो समयसम्म किटाणु रहने जनावरमा समेत लाग्ने र नेपालमा वार्षिक साढे छ अर्ब रुपैयाँ खोरेत रोगका कारण क्षति रहने गरेको कार्यपत्रमा प्रस्तुत गरिएको थियो।
माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास, माई नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भुर्तेल, रोङ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र पोखरेल लगायत दुवै पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, किसान, सहकारी प्रतिनिधि स्थानीय पशुपालन कृषक, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रममा रोङका दुग्ध व्यवसायी बेनुपराज खालिङ, रोङ वडा नम्बर ३ का वडा अध्यक्ष मातृका बराल माई ३ का वडा अध्यक्ष देवकुमार तामाङ लगायतले मन्तव्य राखेका थिए ।