फिक्कल । कोशी प्रदेश सरकारका अर्थमन्त्री एवम नेकपा एमाले केन्द्रीय सदस्य राम बहादुर मगरले केपी ओली नेतृत्वको सरकारले देशलाई श्रीलंकाकरण हुनबाट जोगाएको बताएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको स्थायी सरकार बनाएर अस्थिरताबा जोगाएको जिकिर गरे ।
नेकपा एमाले सूर्योदय नगर कमिटिको दोश्रो अधिवेशन उद्धघाटन गर्दै मगरले भने ‘बहुमतको सरकार नहुँदा स्थिरता नभएकाले देशमा विकास निर्माण हुन सकेन । अब यो वा त्यो कुनै बहानामा काम नगर्न सरकारलाई छुट छैन । काँग्रेस–एमाले मिलेर स्थिरताको यात्रामा गएकाले देशलाई श्रीलङ्काको स्थितिमा पुग्ने खतरा नयाँ सरकारले टारेको छ ।’
देशमा साना दलहरुले विचारको राजनीति नगरेको आरोप लगाउँदै विभिन्न बहानामा सामाजिक सदभाव भड्काए उल्लेख गरे । ‘भाषा,धर्म,जातिको नाममा दल बनाएर एउटा समुहलाई सामाजिक सदभाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाई र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठुला दल मिल्न बाध्य भएको हो ।’
उनले देशको अर्थतन्त्र सुधारन्मुख गतिमा रहेको बताए । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको सुनाउँदै मन्त्री रानाले केन्द्रीय सरकारमा पनि अर्थतन्त्र सुधारन्मुख रहेको बताए । कार्यक्रममा इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पुरा गर्ने गरि सरकारले काम गरिरहेको बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको भन्दै उहाँले नेपाली कांग्रेस जस्तो पुरानो दलसँग काम गर्न सहज रहेको बताए । एमाले ईलामका अध्यक्ष गणेश बरालले आगामी कार्यभारमा पार्टीका कार्यकर्ताहरुलाई मिलाएर लैजाने र त्यसमा महिला, दलित र अल्पसंख्यकलाई प्राथमिकता दिने बताए । पार्टीको नीति सिद्धान्त अनुसार जिल्लामा संगठन दरिलो बनाउन लागिपरेको बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष उदय बहादुर राई, सचिव उमेश गुरुङ , प्रदेश कमिटि सदस्य देबेन्द्र विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको अवसरमा पार्टीलाई योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटि विघटन गरि आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको छ ।