Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

हौसला भए उमेरले छेक्दैन, ७३ बर्षमा ट्रायल पास

हौसला भए उमेरले छेक्दैन, ७३ बर्षमा ट्रायल पास

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ५ २०८१


हौसला भए उमेरले छेक्दैन, ७३ बर्षमा ट्रायल पास

इलाम : कुरा शुक्रबारको हो । यातायात व्यवस्था सेवा कार्यालय इलाममा मोटरसाइकलको चालक अनुमति पत्र  (लाइसेन्स) को ट्रायल परीक्षा थियो । कार्यालय परिसर वरपर परीक्षा दिनेको भिड नै लागेको थियो । कोही परीक्षा पास गरेर एक अर्कामा खुसी साटासाट गरिरहेका थिए त कोही फेल भएर फेरि अर्कोपटक थप मिहिनेत गरेर आउने खबर साटासाट गर्दै थिए ।

परीक्षास्थलको त्यही भिडमा थिए उमेरले ७३ वर्ष पुग्नुभएका दुर्गाप्रसाद घिमिरे । उनी पनि ट्रायल परीक्षा दिन आफ्नो पालो पर्खंदै थिए । केही दिन अघि मात्र इलामस्थित इलामेली अटोमोबाइल ट्रायल सेन्टरमा मोटरसाइकल सिक्न आउँदा उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । त्यसैले पनि उनले ट्रायल दिने दिनमा समेत सबैको नजरमा परिरहेका थिए ।

पाको शरीर भए पनि दृढ इच्छा शक्ति बोकेर लाइसेन्स लिएरै मात्र घर फर्किने संकल्प गरेर घरबाट निस्किएका घिमिरेले मोटरसाइकलकोे लाइसेन्स लिन सफल भएका छन् । ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका-८ घर भएका घिमिरेले लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षा उत्तीर्ण गरेर चालक अनुमति पत्र ९लाइसेन्स० लिन सफल भएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खग्रेन्द्रप्रसाद मैनालीले बताए ।

मैनालीले भने, ‘शरीर बुढो भएर केही हुन्न इच्छा शक्ति भयो भने सफल बन्न केहीले छैक्दैन त्यसैको उदाहरण बन्नुभएको छ दुर्गाप्रसाद घिमिरे ।’ मैनालीले लाइसेन्स लिन सफल हुनुभएको प्रमाण हस्तारतरण गर्दै घिमिरेलाई बधाईसमेत दिए । यता, २०६० सालमा मोटरसाइकल सिकेर कुदाउन थाले पनि अहिलेसम्म लाइसेन्स भने नभएको बताउने घिमिरे लिखित र प्रयोगात्मक परीक्षा पास भएपछि खुसी देखिए ।

घिमिरेले भने, ‘लामो प्रयासपछि जीवनको एक महत्वपूर्ण सफलता हात पार्न सफल भए त्यो नै मेरो लागि ठूलो कुरा हो । इलाममा यातायात कार्यालय स्थापना भएर लाइसेन्स वितरण सुरु भएपछि मात्र मलाई थाहा भयो ६० बर्ष माथिकाले पनि लाइसेन्स लिन पाइन्छ भन्ने कुरा । त्यसपछि फारम भरे परीक्षा दिए आज पास पनि भए । नत्र गाँउघरमा ६० वर्षमाथि लाइसेन्स लिन पाइँदैन भन्ने हल्लाकै भरमा बसिरहेको थिए । तर, त्यसो होइन रहेछ भन्ने थाहा पाएपछि इलाम आएको हुँ ।’

२० वर्षसम्म सरकारी सेवामा काम गरेका घिमिरे इलाममा परीक्षा दिन आउँदा नातिलाई साथमा लिएर आएका थिए । गाविस सचिवका रूपमा काम गरेर अवकाश प्राप्त घिमिरे लाइसेन्स प्राप्त गरेपछि खुसी हुँदै शुक्रबार नै घर फर्किएका छन् ।
प्रकाश नेपाल÷हिमालयन टाइम्स

प्रतिक्रिया
सम्बन्धित समाचार