Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका मोहनले पाए आशा भोस्लेसँग गीत गाउने ‘दुर्लभ’ मौका

इलामका मोहनले पाए आशा भोस्लेसँग गीत गाउने ‘दुर्लभ’ मौका

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज १ २०८१


इलामका मोहनले पाए आशा भोस्लेसँग गीत गाउने ‘दुर्लभ’ मौका

इलाम– इलामका गायक मोहन राईले चर्चित भारतीय गायिका आशा भोस्लेसँग गीत गाउने अवसर पाएका छन् । राईले मुम्बई पुगेर ‘यो हाम्रो माया’बोलको गीत आशा भोस्लेसँग रेकर्ड गराएका हुन् । ९२ वर्षीया भोसलेसँग गीत गाउन पाउनुलाई युवा गायक मोहनले ‘दुर्लभ’ अवसर भनेका छन् । गीतमा ८४ वर्षे संगीतकार रञ्जित गजमेरको संगीत छ ।

गायिका भोस्ले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘साउने झरीमा त्यो गाउँको गोरेटो’, मोहनी लाग्ला है, पहाडको माथि माथि, किन बढ्दै ढुकढुकी मुटुको, नगर दोमन माया लाएको हैन् नभन, यति धेरै माया दियौ बाच्ने रहर बढ्न थाल्यो, एउटा मान्छे मन पर्छ भन्नै सक्दिन्, म प्याँर बेचिदिन्छु,, चन्चले मन भुल्यो मायाको रहर चल्यो, तिम्रो मनमा लुकेको कुरा नभने पनि माया त माया हो, गैरी खेतको शिरै हान्यो लगायत गितमा स्वर दिएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् ।

विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली कलाकारको संख्या नगन्य छ । ‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो । नेपाली गायक–गायिका लागि सम्भवतः यो दुर्लभ क्षण हुनुपर्छ,’ मोहनले भने, ‘आशा दिदीलाई नेपाली संगीतमा ल्याउने रञ्जित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं । केही महिनाभित्र सार्वजनिक गर्छौं ।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोस्लेसँग गीत गाएका हुन् । ‘मायाको खेल’ र ‘कस्तो सपना’पछि नयाँ एल्बमको तयारी गरिरहेको छु । चारवटा गीत तयार भइसके,’ उनले भने, ‘गीतकारहरूमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक बान्तवालाई समेटेको छु । संगीतमा रञ्जित गजमेर, नरहरि प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ (किरण) लगायत नेता, कर्मचारी प्रशासकहरूका गीत गाइसकेका छन् । गायक राईले प्रथम राष्ट्रपति डा।रामवरण यादवबाट २०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचन गराएका थिए । पछि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार