फिक्कलः इलामको सूर्योदय नगरपालिकामा कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र वातावरण संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सहारा नेपाल साकोसको आयोजना र सूर्योदय नगरपालिकाको समन्वयमा छलफल कार्यक्रम सम्पन्न भएको हो । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीले वातावरण संरक्षण गर्न सबै पक्ष सक्रिय बन्नु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा नगर प्रमुख राईले कार्वन उत्र्सर्जन कम गरी वातावरण संरक्षण गर्नका लागि नगरपालिकाले मात्र पहल गरेर नहुने भएकाले सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिए । सहारा नेपाल साकोस संचालक समिति सदस्य लक्ष्मी प्रसाद आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले स्थानीय उपभोक्तातालाई सहज हुने गरी साझेदारी कार्यक्रम संचालन गर्न ठोस पहल गर्न सक्नु पर्ने बताए । उनले सहारा नेपालले नगर संग समन्वयमा गर्ने कार्यक्रम बारे ठोस निर्णय लिएर काम गर्न नगरपालिका तयार रहेको जानकारी दिए ।
क्ल्नि कुकिङ सोलुसन कार्यक्रमका संयोजक नविन लामिछानेले कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र वातावरण संरक्षण सम्बन्धि प्रस्तुतीकरण गरेको कार्यक्रममा सहभागीले बिभिन्न बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि कमल गदालले वातावरण संरक्षण र नविकरणीय उर्जाका क्षेत्रमा बिगत देखि काम हुँदै आए पनि तल्लो स्तरका समुदायमा कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको बताए । उनले बिद्युत प्राधिकरणको अस्पष्ट नीतिका कारण उपभोक्ता मारमा परिरहेको बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिका वन वातावरण तथा बिपत ब्यवस्थापन समितिका संयोजक राजकुमार लिम्बु, सूर्योदय २ का वडाध्यक्ष डिक बम्जन, कार्यपालिका सदस्य लता अधिकारी गौतम, राष्ट्रिय वन पैदावर ब्यवसायी संघका अध्यक्ष रोहित खड्का , डिभिजन वन कार्यालयका प्रतिनिधि र बिद्युत प्राधिकरणका प्रतिनिधि लगायतले वातावरण संरक्षणमा भएका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा आफनो धारण राखेका थिए ।
कार्यक्रममा सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाले कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र वातावरणसंरक्षणका क्षेत्रमा सहारा नेपालले गर्दै आएका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले मौसम परिवर्तनका कारण हुनसक्ने प्रतिकुल असरको न्यूनिकरण र व्यवस्थापन गर्न सबै सरोकारवाला निकायले नीतिगत व्यवस्थापन र कार्ययोजना सहित अगाडी बढन आपसी समन्वय गर्नु पर्नेमा जोड दिए ।