Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बार्षिक समिक्षा बैठक : पालिकाका प्रमुख–उपप्रमुख सहित दलले नै दिएनन् महत्व

बार्षिक समिक्षा बैठक : पालिकाका प्रमुख–उपप्रमुख सहित दलले नै दिएनन् महत्व

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र २८ २०८१


बार्षिक समिक्षा बैठक : पालिकाका प्रमुख–उपप्रमुख सहित दलले नै दिएनन् महत्व
इलाम । जिल्ला समन्वय समिति इलाममा बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक ३ दिनसम्म चलेको थियो । इलामका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समिति इलामको समिक्षा बैठकलाई बेवास्ता गरेको पाइन्छ । यो समिक्षा बैठक हरेक बर्ष झारो टार्ने काम मात्र भइरहेको छ । बुधबारबाट सुरु भएको बैठक शुक्रबार सकिएको छ । यो बैठकलाई पालिकाका प्रमुख–उपप्रमुख सहित जिल्लाका कुनैपनि राजनैतिक दलले महत्व दिएन । समिक्षा बैठकमा नेकपा एमालेका अध्यक्ष गणेश बराल र माओवादी केन्द्रका जिल्ला नेता गञ्जु प्रधानको मात्रै समापनमा उपस्थिति थियो ।
विगतमा गरिएको कामको समिक्षा तथा आगामी बर्षमा गरिने कामको कार्ययोजना बनाउन समिक्षा बैठकको महत्वपूर्ण भूमिका हुन्छ । जसमा पालिकाका प्रमुख÷उपप्रमुख, प्रशासकीय अधिकृत र राजनैतिक दलको उपस्थित अनिबार्य हो । तर जिससको पत्रचारलाई लत्याउँदै इलामका पालिकाका प्रमुख÷उपप्रमुख तथा दलहरुले समिक्षा बैठकलाई महत्व  नदिएको जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले बताए ।
समिक्षा बैठकमा सन्दकपुर गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, सूर्योदय नगरपालिकाका मेयर र इलाम नगरपालिाका उपमेयर बाहेक बाँकी अधिकाँश पालिकाका प्रमुख–उपप्रमुख र राजनैतिक दलका प्रतिनिधिहरु समिक्षा बैठकको पहिलो र दोस्रो दिन नै अनुपस्थित रहेका थिए । जसकारण पनि यो समिक्षा बैठकको औचित्यमाथि प्रश्न उठ्न थालेको थियो ।  जिल्लामा बर्षभरी गरीएका कामको समिक्षा र आगामि बर्षका लागि के कस्ता योजनाहरु निर्माण गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल हुने समिक्षा बैठकको प्रमुख उद्येश्य हो । समिक्षा बैठकमा आयोजकले दलहरुलाई पत्रचार गरेपनि बैठकमा दल र पालिकाले पूर्ण बेवास्था गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समिक्षा बैठक केवल झारो टार्ने कामको रुपमा रहेको अवस्थामा पुगेको प्रमुख राईले बताए । समिक्षा बैठकको समापनको दिन जिल्ला फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु लावतीको उपस्थिति रहेको थियो ।
समीक्षा बैठकलाई विगतका समस्या समाधान र आगामी यात्राको मार्गनिर्देश गर्ने भएकाले सकारात्मक कार्यको रुपमा लिनुपर्ने एमाले जिल्ला अध्यक्ष गणेश बरालको भनाइ छ । उनले भने– जिल्लाको समग्र विकासका लागि पर्याप्त समन्वय र सहकार्यको आवश्यकता हुन्छ । बैठकमा जो सरोकारवालाका लागि अर्थात् जसका लागि बैठक आयोजना गरिएको थियो, उसैको उपस्थिती बिना पहिलो र दोस्रो दिनको समीक्षा बैठक सकिएको छ । जिल्लाको समग्र विकासका लागि एकआपसमा सिकाई आदानप्रदान गर्ने भएकाले दलहरुले पनि प्राथमिकतामा राख्नुपर्ने दलका प्रतिनिधि बताउँछन् । तर बैठकमा दलका प्रतिनिधि नै उपस्थित नहुनु कुरा एकातिर, काम अर्कोतिर भन्ने प्रस्ट हुन्छ ।
पछिल्लो समयमा प्रशासनले बिकास निर्माणका कामको अनुगमन गर्ने क्रम बढ्नु र बिकास निर्माणका समस्या लिएर प्रमुख जिल्ला अधिकारीकोमा पुग्न थालेपछि जिल्ला समन्वय समितिप्रति जनप्रतिनिधिले बेवास्ता देखाउँदा समिक्षा बैठकको महत्व घट्दै गएको छ । जिल्ला प्रशासनले जिल्लाको शान्ति सुरक्षामा ध्यान दिने हो ।  बिकास निर्माणको अनुमगमन र समस्याको हल जिल्ला समन्वय समितिले गर्ने भएकाले जनप्रतिनिधिले बिकासका कामका बारेमा जिल्ला समन्वय समितिमा आउनुपर्ने सरोकारवालाको भनाइ छ ।
बैठकमा जिल्लाका बिभिन्न पालिकाका प्रशासकिय अधिकृत र बिभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रतिनिधिले प्रतिबेदन प्रस्तुत गरेका छन् । अन्तत कर्मचारीले प्रस्तुत गरेको प्रतिबेदनमा कर्मचारीले नै तालि बजाएर पहिलो र दोस्रो दिनको समिक्षा बैठक सकिएको छ । समिक्षा बैठकको समापनमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, नेकपा एमाले इलाम अध्यक्ष गणेश बराल, माओवादी केन्द्रका जिल्ला नेता गञ्जु प्रधानले समिक्षा बैठकको प्रभावकारीताबारे जोड दिएका थिए । कार्यक्रमको जिल्ला समन्वय प्रमुख जयप्रकाश राईले समापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार