Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पुलिससँग आज अपराजित कोशीको परीक्षा

पुलिससँग आज अपराजित कोशीको परीक्षा

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २६ २०८१


पुलिससँग आज अपराजित कोशीको परीक्षा

इलाम । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई अपराजित टोली कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउसो साढे १२ बजे सुरु हुनेछ। यसअघिका लिगमा विभागीय टोली अन्य टोलीविरुद्ध हाबी हुँदै आएका छन्। तर, विदेशी खेलाडी अनुबन्ध गर्दै अन्य टोलीले पनि आफू कम नभएको प्रमाणित गरेका छन्।

लिगको चौथो चरण जारी रहँदा कोशी प्रदेशले सतप्रतिशत जित निकालेको छ। भारतीय तीन तथा नेपालबाट उमेर समूह खेलेका खेलाडीसाथ कोशीले शानदार प्रदर्शन गरिरहेको छ। यसअघि विभागीय टोलीसँग कोशीले खेलेको छैन। त्यसैले पनि पुलिसविरुद्ध कोशीको परिक्षण हुनेछ। पुलिसले पहिलो खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफविरुद्ध गोलरहित बराबरी खेल्दा सुदूरपश्चिम र बागमतीलाई हराएको थियो।

भोला सिलवालको प्रशिक्षणमा रहेको पुलिसमा राष्ट्रिय टोलीबाट खेलिसकेका निरु थापा, गीता राना, अमृता जैसी, दीपा न्यौपाने, समिक्षा घिमिरे लगायत छन् ।त्यस्तै, उमेर समूहबाट खेलिसकेका खेलाडीको बाहुल्यता छ। कोशीको टिमबाट नेपालको उमेर समुहका राष्ट्रिय टिमबाट खेलेका पुर्णिमा राई, ममता राउत, समिक्षा मगर, झुमा पोर्तेल सहित ३ भारतीय खेलाडी रहेका छन् ।

दिउसो साढे ३ बजे सुरु हुने खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। चौथो खेल खेल्न लागेको संकटा पहिलो गोलको खोजीमा छ । कमजोर सुरुआत गरेको संकटाले महिला लिगमा डेब्यु गरेको हो। तालिकामा कोशी ९ अंकसहित शीर्ष स्थानमा छ। पुलिस र एपिएफको समान ७ अंक छ। गोलअन्तरमा पुलिस दोस्रो स्थानमा छ।

आर्मी र वालिङ नगरपालिकाको समान ६ अंक रहँदा बागमतीको ६ अंक छ। चन्द्रपुर नगरपालिकाको २ तथा संकटा र कर्णालीको समान एक अंक छ। सुदूरपश्चिमले खाता खोल्न सकेको छैन। १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार