इलाम । एन्फा वुमन्स लिगमा विभागीय टोली त्रिभुवन आर्मीले सुदुरपश्चिम माथि गोलको बर्षा गरेको छ । आज सम्पन्न खेलमा आर्मीले सुदुरपश्चिमको पोष्टमा १४ गोल गरेको हो । खेलमा आर्मीले १४–१ अन्तरले जित निकाल्दै महत्वपुर्ण ३ अंक बटुलेको हो । आर्मीको जितमा दिपा शाहीले ५ गोल गरिन् । अनिता लम्जेलले २, विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला बिक र सावित्री देवी मगरले समान १/१ गोल गरिन् ।
सुदुरपश्चिमकी शान्ति विक र आर्मीकी निलम सिंहले आत्मघाती गोल गरे । पहिलो हाफमा ७ गोल गरेको आर्मीले दोश्रो हाफमा थप ७ गोल गर्न सफल रहयो ।प्लेयर अफ दि म्याच ५ गोल गरेकी दिपा शाही घोषित भइन् । उनलाई त्रिभुवन आर्मीका क्लबका कप्तान भरत खवासले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
जितसंगै आर्मी ३ खेलमा २ जित र १ हार संगै ६ अंकको साथ चौथो स्थानमा उक्लिएको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा आर्मीले वालिङ नगरपालिकालाई पछि पारेको हो । बुधबार पहिलो खेलमा लिग लिडर कोशी प्रदेशले दोश्रो स्थानको नेपाल पुलिससंग खेल्नेछ । दोश्रो खेलमा कर्णाली प्रदेश र संकटा एफसी भिड्नेछन् ।