Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की भोलिदेखि आमरण अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की भोलिदेखि आमरण अनशन बस्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २४ २०८१


कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की भोलिदेखि आमरण अनशन बस्दै

विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन बस्दै छन्। विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवनसामु आमरण अनशन बस्ने जानकारी दिएका हुन्। उनले आफू बरु मर्न तयार हुने तर अनशन नछोड्ने स्पष्ट पारे। उनले आफूले गरेको आमरण अनशनमा सबै दलले समर्थन गर्ने दाबी गरे।

‘काँग्रेसले पनि समर्थन गर्छ। माओवादी, एमाले, एकीकृत र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ’, उनले भने। आफूले उठाएको एजेण्डा जनताको एजेण्डा भएकाले सबैले सहयोग गर्ने उनको दाबी छ। आफ्ना समर्थकहरूबाट रिले अनशन, आमरण अनशन बस्छु भनेर प्रस्ताव आइरहेको पनि बताए। केही सामाजिक अभियन्ता पनि आमरण अनशनमा जुट्ने उनले बताए।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै हिजो ४८ घण्टाको अल्टिमेटम दिएका थिए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पूरा नगरे आमरण अनशन बस्ने चेतावनी दिएका थिए।

उनले दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घीउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन्।

स्मरणपत्रको विषयमा प्रदेशसभामा पत्रकारले मुख्यमन्त्री कार्कीलाई प्रश्न गर्दा बोल्न चाहेनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार