इलाम । इलामको नेपालटार–मङ्गलबारे कालोपत्रे सडकको निसाना मेटिने अवस्था भएपछि चाँडो मर्मतका लागि स्थानीयबासीले सडक डिभिजन कार्यालय इलाममा ज्ञापन पत्र बुझाएका छन् । सडक कालोपत्रे भएपश्चात् मर्मत लामो समयसम्म मर्मत नहुँदा धेरै ठाउँको कालोपत्रे कच्चीमा परिणत भएको भन्दै इलाम नगरपालिका १ का जनप्रतिनिधिको नेतृत्वमा सडक मर्मतको माग गरेका हुन् ।
मेची राजमार्गको नेपालबाट मंगलबारे जोड्ने १२ किलोमिटर सडक ५ वर्ष अघि कालोपत्रे भएको थियो । कालोपत्रे गरेर छोडेपछि मर्मत नपाएको उक्त सडकखण्डमा वर्षातमा हिलाम्मे हुने गरेको इलाम नगरपालिका १ का वडा सदस्य मोहन गुरुङ्गले बताए ।
इलामको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र रहेको मङ्गलबारे पुग्ने यो सडक मर्मत नभएपछि यात्रा गर्न कठिन छ । सडक डिभिजन कार्यालय इलाममा गत आर्थिक वर्ष मर्मतका लागि बजेट आएपनि अहिले बजेट व्यवस्था नभएको इञ्जिनियर मनिसा कट्टेलले बताइन् ।
२०७२ सालमा सूर्य कन्स्ट्रक्सन कम्पनीद्वारा सडक डिभिजन इलामबाट ११ करोड रुपैयाँमा ठेक्का लागी नेपालटार मंगलबारे सडक कालोपत्रे गरेको थियो । स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय इलाममा पनि ज्ञापन पत्र बुझाएका छन् ।