इलाम । एन्फा वुमन्स लिगमा कोशी प्रदेशले लगातार तेश्रो जित हासिल गरेको छ । आज सम्पन्न तेश्रो चरणको खेलमा कर्णाली प्रदेश माथि ४–० गोल अन्तरको फराकिलो जित निकाल्दै कोशीले महत्वपुर्ण ३ अंक हासिल गरेको हो । जितसंगै कोशी शिर्ष स्थानमा यथावत छ । कोशीको जितमा पुर्णिमा राईले २, समिक्षा मगर र प्रतिक्षा राईले १/१ गोल गरेका थिए ।
खेलको ३४ औ मिनेटमा पुर्णिमाले पहिलो गोल गरिन् । ममता राउतको पासमा पुर्णिमाले कोशीको लागि पहिलो गोल गरिन् । पहिलो हाफमा १–० को अग्रता बनाएको कोशीले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो । कोशीले ३ वटै गोल १० मिनेट भित्रमा गरेको थियो । ६६ औ मिनेटमा समिक्षाले दोश्रो गोल गरिन् । पुर्णिमाको पासमा तुलसा बोहराबाट हेडर फ्लिक बललाई समिक्षा जाली चुमाइन् ।
गोलरक्षक लिला जोशी अघि बढेको मौकालाई उनले सदुपयोग गरेकी थिइन् । ७१ औ मिनेटमा सुनिता सरकारको हेडर प्रहारमा अफसाइड ट्रयाप गर्दै पुर्णिमाले व्यक्तिगत दोश्रो गोल गरिन् । कर्णालीकी अञ्जना पुनले प्रहार गरेको फ्रिकिकलाई सुनिताले हेडर मार्फत अवसर सृजना गरेकी थिइन् । ३ मिनेट नवित्दै प्रतिक्षाले गोल गरिन् ।
ममताले मैदानको मध्यभागबाट मिलाइदिएको पासमा कर्णालीकी डिफेन्डर तुलसा बोहरा र गोलरक्षक लिला जोशीको समन्वय अभावको फाइदा उठाउँदै प्रतिक्षाले गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दि म्याच पुर्णिमा घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् । दुवै टिमबाट नेपालको यु–२० राष्ट्रिय टिमका खेलाडीहरु सहभागि थिए । जितसंगै कोशी प्रदेशले ३ खेलबाट ९ अंक बटुलेको छ ।
२ खेलबाट ४ अंक जोडेको नेपाल पुलिस दोश्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरको आधारमा एपिएफ तेश्रो स्थानमा छ । लगातार २ हार व्यहोरेको कर्णाली १ अंकको साथ ९ औ स्थानमा झरेको छ । आज नै विभागीय टिम नेपाल पुलिसले बागमती युथ क्लबको सामना गर्नेछ ।