विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । विराटनगरमा निर्माण व्यवसायी संघ मोरङको साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति, नियम, कानून, कर्मचारीतन्त्र र कार्यसम्पादनमा भएका त्रुटीहरु सच्याएर निर्माण कार्यलाई ब्यवस्थित बनाउन तयार रहेको बताए ।
मुख्यमन्त्री कार्कीले सबै पक्ष कमजोरी सच्याएर अघि बढ्नुपर्ने औल्याउँदै प्रदेश सरकार पनि ब्यवसायिसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । उनले भने “नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरुमा आशा जगाएको मैले पाएको छु, निर्माण व्यवसायी र कानूनी अफ्ट्याराका कारण अझै पनि विकास निर्माणको काम दू्र्त गति र गुणस्तरीय हुन सकिरहेको छैन , यसले सरकारप्रति पनि वितृष्णा बढाउने काम गरेको छ ।”
मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रकृयामा भएक त्रुटिमा आफ्नो ध्यान गएको र यसलाई सच्याउन संघीय सरकारलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले गर्न सक्ने जति काम भने यही दशैँ अघि नै सक्ने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले लगाएका ठेक्काहरुको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कीले बताए । प्रदेशले बनाएका कानुनमा केही त्रुटी भए त्यो आगामी हिउँदे अधिवेशनबाट समाधान गर्ने उनले बताए । न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेको भन्दै यसमा पनि गम्भीर हुन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औल्याए । गुणस्तरीय काम नहुदा र ढिलासुस्तिले समग्र मुलुककै कार्यदक्षतामा प्रश्न उठ्न थालेकोले यस्तै अवस्था रहे मुलुक नै टाट पल्टिने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भने – “सबैले गम्भीर भएर समिक्षा गर्न जरुरी छ। सम्माननीय प्रधानमन्त्रीज्युले समेत यसलाई गम्भीर रुपमा लिनुभएको छ, प्रमुख सत्ता घटक नेपाली काँग्रेसका सभापति ज्युले पनि समास्या समाधान गर्न तत्परता देखाइरहनुभएको छ, उहाँहरुलाई राखेर समस्याको हल गर्न म तयार छु ।” उनले भने “कतिपय समस्याहरु भने निर्माण व्यवसायीकै कारण छ।”
कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव रवि सिंहले निर्माण व्यवसायीहरुको समस्याका विषयमा जानकारी गराएका थिए। सार्वजनिक खरिद ऐन, कर्मचारीतन्त्र र सरकार, भुक्तानीमा ढिलाई लगायतका समस्याले निर्माण व्यवसायीहरु गम्भीर अवस्थामा पुगेको उनको भनाइ छ । कार्यक्रममा निर्माण व्यवसायीहरुलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ मोरङका सचिव राधेश्याम कट्टलले जानकारी दिए ।