इलाम । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट ९४ करोड रुपैयाँको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा ९४ करोड २१ लाख रुपैयाँको चिया तथा कफी निर्यात भएको हो । यसैगरी, सोही अवधिमा ७६ करोड ४१ लाख रुपैयाँको चिया र कफी आयात भएको छ ।
चिया र कफीबाट सरकारलाई १७ करोड ८० लाख रुपैयाँको व्यापार नाफा भएको जनाइएको छ । नेपालमा उत्पादित चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । त्यसबाहेक अमेरिका, जापान, चीन लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ । इलामबाट सुरु भएको चिया खेती विस्तार भइ पाँचथर, झापा, ताप्लेजुङ, धनकुटा भोजपुर, तेह्रथुम तथा पश्चिमका केही जिल्लाहरुसम्म पुगेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।