इलाम । मानवतालाई जीवन्त राखौं भन्ने नारा सहित ६२ औ नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा इलामको सन्दकपुर गाउँपालिकामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा जिल्ला लैगीक तथा समावेशीकरण समितिको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको थियो ।
समितिका संयोजक हरिकला गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुंगेली, जिल्ला शाखा अध्यक्ष शिव प्रसाद गौतम र इलाम शाखाका परामर्शदाता रोमनाथ आचार्यले रेडक्रसको अभियान र यसको महत्वबारे प्रकाश पारेको थिए । यसै गरी सन्दकपुर वडा नम्बर को सरस्वती माविमा जुनियर रेडक्रस सर्कलद्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा छ विद्यालयका विद्यार्थीहरूले वक्तृत्वकलामा भाग लिएका थिए । प्रतियोगितामा प्रबोध मावि माबुकी छात्रा विनीता राई प्रथम, आदरणीय माविकी आयेजा राई दोस्रो र श्याम्बल माविकी अंशिका विश्वकर्मा तेस्रो भए । सरस्वती मावि, माइपोखरी संस्कृत मावि र भगवती माविका छात्र छात्राले पनि प्रतियोगितामा भाग लिएका थिए ।
कार्यक्रममा शिक्षक विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।