रोङ : राणाकालिन समयमा नै शिक्षाको जग वसाल्न दुर्गम गाउँमा बिद्यालय स्थापना गर्ने शिक्षासेवी गौरी लामाको शालिक स्थापना गरी अनावरण गरिएको छ । राणाकालिन समय बिस २००४ सालमा रोङ गाउँपालिका वडा न ६ को सलकपुरमा रहेको मोतिराम माध्यमिक बिद्यालयको सस्थापक शिक्षासेवी गौरी लामाको शालिक निर्माणगरि एक कार्यक्रमको बिच रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले अनावरण गरेका हुन् ।
बिद्यालयका पुर्व बिद्यार्थीद्वय रोङ गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यता र वडा न ६ का वडाध्यक्ष सत्यम राई चौरासेको बिशेष आतिथ्यमा बिद्यालय परिसरमा शालिक अनावरणको कार्यक्रम भएको थियो ।
को हुन गौरी लामा
बिस १९३७ मा तेह्रथुमको आठराई ढोडेनीमा जन्मिएका लामा उनका पिता ज्ञानवाङसंग १९४५ मा सलकपुरको कातिकेमा वसाई सरी आएका थिए । वाल्यकालमा नै भारततिर गएर अंग्रेजीसंगै नेपाली संस्कृत र पाली भाषाको अध्ययन गरेका लामा सिलिगुडि दार्जिलिङ सडकमा मुन्सी काम गर्दथे । शिक्षाप्रति मोह भएका कारण उनलाई मुन्सी मास्टर र दारी पालेको कारण दारीमास्टर नामले पनि चिनिन्थे ।
पछि उनै मुन्सि मास्टरले भारतको मिरिकथुम, सौरेनीमा बिस १९६८/६९ तिर समेत स्कुल खोलेर पढाउने गरेका थिए । नेपालकै मान्छे मुन्सिमास्टरले भारतमा पढाएको थाहा पाएर तत्कालिन इलामका वडाहाकिम राज समसेर राणाले आफ्ना नानिहरुलाई पढाउन लगाएका थिए । इलाममा केहि समय बसेर गौरी पुर्वी ईलामतिर लागे ।
केहिसमय करफोकमा रहेको सोमेश्वरानन्दको कुटिमा बिताए र फिक्कलमा रहेको संस्कृत पाठशालामा बिताएर सलकपुरलाई मौरीपालन, सुन्तला कागती ,भोगटे रोपणको शुरुआत गरेका थिए । पछि स्थानिय अग्रज देवलाल घिमिरे, पुस्पलाल घिमिरे, पदमलाल घिमिरे, बिश्वनाथ घिमिरे, िशवलाल उपाध्याय, मणिराज भारती लगायतको सरसल्लाहमा स्कुल खोल्ने प्रस्ताव गरि २००४ सालमा छबिलाल उपाध्यायकोे राजिनामा गरेको बाझोवारीमा स्कुल स्थापना गरेका थिए ।
पछि उक्त ठाउ ओसिलो भएको कारण रमाईलो र घमाईलो डाडा पदमलाल उपाध्यायले ९९को राजिनामा गरेको हालको मोतिराम माबि भएको स्थानमा स्कुलको स्थान्तरण भएको थियो । तत्कालिन राणाकालमा बिद्यालय खोल्ने अनुमतिको बिन्तिपत्र बिस २००५ असोज २३ गते शिक्षा हेर्ने राणाहाकिम मिगेन्द्र समसेर जवरा समक्ष पेश भयो । स्कुलको बिबरण पठाउने हुकुम सहित बार्षिक १५ सय अनुदान पाउने पत्र सहित बिद्यालयको बिधिवत स्थापना भएको विस २०२२ सालदेखी काम गरेका पुर्व प्रधानाध्यापक दलबहादुर मोक्तानले बताए
२०२२ सालमा आफुले कार्यालय सम्हाल्दा कागजातको बिचमा भेटिएको नेगेटिभ सिलिगुडिको एच एल फोटो स्टुडियोमा लगेर धुलाउदा गौरी लामा रहेको र आफुले उक्त दस्ताबेजहरु सबै बिद्यालयमा बरबुझारथ गरेको मोक्तान बताउछन् । सभवत राणाकालमा नै इलामको गाउमा स्कुलखोल्ने पहिलो शिक्षासेवी गौरी लामाको निधन बि स २००९ मा भएको र उनको तेश्रो भन्दा तलका पुस्ताहरु सलकपुमा नै रहेका छन् ।