Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको माईभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाख भ्रष्टाचार मुद्दा

इलामको माईभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाख भ्रष्टाचार मुद्दा

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १३ २०८१


इलामको माईभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाख  भ्रष्टाचार मुद्दा

इलाम । इलामको इलाम नगरपालिका वडा नं ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०७० सालदेखि ठेकेदार र अध्यक्ष समेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैङ्क खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपियाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको छ ।

२०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाउन लागेको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोवार गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी अख्तियारम परेको थियो ।

  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले विज्ञप्तिमा उल्लेख छ । यसैगरी, समितिको कोषाध्यक्ष रिता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनीविरुद्ध ३० लाख ७८ हजार ६०० रुपियाँ बिगो रकम कायम गरी जरिवाना एवम् असुल उपर हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार